काठमाडौं । सत्तारूढ दलका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले आफ्नो भ्रमण खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कोपमा सहभागी हुनेहरू सरकारी खर्चमा गएका हुन् वा व्यक्तिगत तथा संस्थागत प्रायोजनमा पुगेका हुन् भन्ने स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
कोपमा सहभागी हुनेहरूको सङ्ख्या हरेक वर्ष उल्लेख्य हुने गरेको उल्लेख गर्दै सांसद कार्कीले व्यक्तिगत रुचिका लागि सरकारी खर्च प्रयोग गर्न नहुने धारणा राखे ।
वातावरणका विद्यार्थीका लागि कोपमा सहभागी हुनु सिकाइ र अनुभवका दृष्टिले महत्त्वपूर्ण भए पनि त्यसका नाममा सरकारी स्रोतको दुरुपयोग गर्न नहुने उनको भनाइ छ ।
उनले कोपको निर्णय तथा छलफल प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने व्यक्तिले पनि सम्मेलनका विषयवस्तु र उपलब्धि बुझ्न सक्ने उल्लेख गरेका छन् ।
यसपटक पनि कोपमा सहभागी हुन टर्किए जानेहरूको सङ्ख्या बढेको देखिएको भन्दै सांसद कार्कीले भ्रमणमा जाने सबैले आफू सरकारी खर्चमा गएको वा नगएको सार्वजनिक रूपमा घोषणा गर्नुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया