काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदको उच्चस्तरीय प्रतिनिधिमण्डल आज (आइतबार) चीन भ्रमणमा प्रस्थान गर्दैछ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जान लागेको उक्त टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमण ११ दिनको रहनेछ। भ्रमण टोली आगामी मङ्सिर ११ गते (नोभेम्बर २६) स्वदेश फर्कने तालिका छ।
महामन्त्री आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी छन्।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका प्रमुख सहरहरू बेइजिङ, हाङचोउ र सिचुवानलगायत क्षेत्रको अवलोकन तथा भ्रमण गर्नेछ। भ्रमण अवधिभर सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्वबारे चिनियाँ पक्षसँग अनुभव आदानप्रदान एवं द्विपक्षीय छलफल हुने रास्वपाले जनाएको छ।
टोलीका सदस्य एवं रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा. आनन्दबहादुर चन्दले चीनले नवप्रवर्तन र प्रविधिका क्षेत्रमा हासिल गरेको विकासको अध्ययन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको बताए
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरी भ्रमणका एजेन्डाबारे परामर्श लिएको थियो।
गत शुक्रबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले भ्रमणलाई केवल अवलोकनमा मात्र सीमित नराखी राष्ट्रिय हितलाई केन्द्रमा राखेर व्यापार, प्रविधि, पर्यटन, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) तथा नेपालमा रोकिएका चिनियाँ परियोजनाहरूको कार्यान्वयन र ऋणलाई अनुदानमा रूपान्तरण गर्ने सम्भावनाबारे गम्भीर छलफल गर्न सुझाव दिएका थिएए।
यस्तै, शनिबार भएको भेटमा सभापति लामिछानेले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउँदै तेस्रो मुलुकको विषयलाई छलफलमा नजोड्न सांसदहरूलाई निर्देशन दिएका थिए।
प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया