काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै पुरुषलाई आफ्नो पति दाबी गर्दै तीन महिलाबिच कुटाकुट भएको छ।
मलेसियाबाट स्वदेश फर्किएका ती पुरुषलाई लिन तीनै जना महिला विमानस्थल पुगेका थिए। पुरुष विमानस्थलबाट बाहिरिएपछि उनलाई कसले आफ्नो घर लैजाने भन्ने विषयमा विवाद सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा तीनै महिलाले ती पुरुषलाई घेरेर आफू उनको पत्नी भएको दाबी गर्दै आफूसँगै जान आग्रह गरेको देखिन्छ। सुरुमा चर्काचर्कीमा सीमित विवाद विस्तारै बढ्दै गएपछि उनीहरूबिच गालीगलौज र हात हालाहालसमेत भएको थियो।
विवादका क्रममा एक महिला भावुक भएर रोएकी थिइन् भने अन्य दुई महिलाले पनि आफ्नो दाबी प्रस्तुत गर्दै ती पुरुषलाई आफूसँगै लैजान खोजेका थिए। घटनापछि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो। अवस्था तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरी महिलाहरूलाई छुटाएका थिए।
यद्यपि, ती पुरुष र तीनै महिलाको पहिचान सार्वजनिक गरिएको छैन। उनीहरू वास्तवमै ती पुरुषका पत्नी हुन् वा होइनन् भन्नेबारे पनि स्वतन्त्र पुष्टि भएको छैन। विवादको वास्तविक कारणसमेत खुल्न सकेको छैन।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यस घटनालाई लिएर विभिन्न व्यंग्यात्मक प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले ती पुरुषमा त्यस्तो के विशेषता थियो भन्दै प्रश्न गरेका छन् भने कतिपयले तीनै जना महिला एकै समयमा विमानस्थल पुग्नुलाई आश्चर्यजनक मानेका छन्।
केहीले ती पुरुषकी मलेसियामै अर्की पत्नी हुन सक्ने अनुमानसमेत गरेका छन्। यद्यपि, यस्ता प्रतिक्रियाहरू सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुमान र ठट्टामा मात्रै सीमित छन्।
प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया