काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य र प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन्द्र शाहका मुख्य सल्लाहकार कुमार बेनसँग जोडिएको विवादबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री आचार्यले सञ्चारमाध्यममा सार्वजनिक भएका सबै विषयको निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखेका हुन्। उनले पार्टीको उदय नै सुशासनका लागि भएकाले यस विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
‘रास्वपाको उदय नै सुशासनका लागि भएको हुनाले सुशासनको प्रश्नमा पार्टीभित्र वा बाहिर कतै पनि सम्झौता हुँदैन,’ आचार्यले भने, ‘आमसञ्चारमाध्यममा आएका विषयमा कहीँकतै कसैको दोष देखिए त्यसको उचित निरूपण गर्न प्रधानमन्त्री र रास्वपा सरकार सक्षम छन्।’
उनले सार्वजनिक भएका विषयमा निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गर्दै दोषी पाइएमा कसैले पनि उन्मुक्ति नपाउने बताए।
यसैगरी, पार्टी प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएर उठेका प्रश्नमा सरकारले आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीले यस विषयमा केही सोच्नुभएको हुन सक्ने उल्लेख गर्दै उनले सरकारले चाल्ने कदममा रास्वपाको समर्थन रहने बताए।
खरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन नदिएको पनि स्पष्ट पारे।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फोन प्रहरी अनुसन्धानकै क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको घरमा राखिएको भन्ने विषय सार्वजनिक भएपछि विवाद चर्किएको हो। प्रहरीको फरेन्सिक परीक्षणबाट उक्त मोबाइल बेनको घरमा राखिएको पुष्टि भएको समाचार सार्वजनिक भएपछि विपक्षी दलहरूले घटनाको छानबिन माग गर्दै आएका छन्।
यसै विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेका छन्।
प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया