काठमाडौं । नागरिकताको प्रतिलिपि लिन अब नागरिकता जारी भएको गृह जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले अन्य जिल्लाबाटै नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरेको हो।
नियमावलीको नियम १६ घ मा गरिएको व्यवस्थाअनुसार नेपाली नागरिकले निश्चित अवस्थाहरूमा आफू बसेकै जिल्लाबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्नेछन्।
नागरिकताको प्रमाणपत्र आगलागी वा पानीले भिजेर नष्ट भएको, च्यातिएर प्रयोग गर्न नमिल्ने भएको, हराएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा अन्य जिल्लाबाट प्रतिलिपि लिन सकिनेछ।
यसका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। च्यातिएर काम नलाग्ने भएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा नागरिकताको सक्कल प्रमाणपत्र निवेदनसँगै पेस गर्नुपर्नेछ। आगलागी वा पानीले नष्ट भएको तथा हराएको अवस्थामा भने नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्ने व्यवस्था छ।
त्यस्तै, निवेदकले राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पनि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्ने प्रणालीमा रहेको विवरण र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको विवरण रुजु गर्नेछन्। यसका लागि निवेदकको जैविक विवरणसमेत लिइनेछ।
दुवै डिजिटल प्रणालीमा रहेका विवरण मेल खाएपछि नागरिकता सूचना व्यवस्थापन प्रणालीमा उल्लेख भएअनुसारको विवरण राखेर प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्नेछन्।
नयाँ व्यवस्थाले रोजगारी, अध्ययन वा अन्य कारणले गृह जिल्लाभन्दा बाहिर बसोबास गरिरहेका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन सहज बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया