काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो निजी सचिवालयका सदस्यहरूको जिम्मेवारी तथा पदमा हेरफेर गरेका छन् । पुनर्गठित सचिवालयमा केही सदस्यको जिम्मेवारी यथावत् राखिएको छ भने केहीलाई नयाँ भूमिका दिइएको छ ।

सचिवालयको पछिल्लो जिम्मेवारी हेरफेरमा पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूसँगको सोधपुछ घटनासँग जोडिएका माधव खनालको नाम भने समावेश छैन । उक्त घटनापछि नै उनलाई जिम्मेवारीबाट अलग गरिएको थियो ।

पुनर्गठित सचिवालयमा कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार, असीम शाह राजनीतिक सल्लाहकार र जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकारका रूपमा यथावत् छन् ।

त्यस्तै, विभिन्न विषयगत क्षेत्र हेर्ने गरी पाँच जनालाई संयोजकको जिम्मेवारी दिइएको छ । जसअनुसार सञ्जिव पाण्डे विकास तथा मन्त्रालयगत समन्वय संयोजक, सन्तोष गिरी अन्तरनिकाय समन्वय संयोजक, विशाल अधिकारी सरकारी मामिला तथा योजना समन्वय संयोजक, दीपा दाहाल मिडिया व्यवस्थापन संयोजक र विश्व राई सामाजिक विकास समन्वय संयोजक बनेका छन् । उनीहरू सबैलाई राजपत्रांकित प्रथम श्रेणीसरहको भूमिका दिइएको छ । यसअघि उनीहरू विज्ञका रूपमा कार्यरत थिए ।

नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको भूमिका प्रदान गरिएको छ ।

प्रधानमन्त्री शाहका स्वकीय सचिवमा सुवास शर्मा र नवीन भण्डारी रहेका छन् । शर्माले राजपत्रांकित विशिष्ट श्रेणीसरह र भण्डारीले राजपत्रांकित प्रथम श्रेणीसरहको जिम्मेवारी पाएका छन् ।

यसैगरी, पाँच जनालाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ । सुसन गौतमलाई नागरिक उड्डयन समन्वय, रवि किरण अधिकारीलाई सामाजिक विकास समन्वय, प्रकृति ढकाललाई स्वास्थ्य समन्वय, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययनको जिम्मेवारी दिइएको छ ।

उपसंयोजकहरूलाई राजपत्रांकित द्वितीय श्रेणीसरहको भूमिका प्रदान गरिएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This