काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले छठ पर्वका क्रममा जातका आधारमा घाट र पण्डाल छुट्याएर विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरेकी छन्।

उनले सनातन धर्मले कुनै जात वा थरका आधारमा मानिसलाई ठूलो–सानो नमान्ने उल्लेख गर्दै उक्त माग गरेकी हुन्। उनले धर्म र परम्पराको नाममा जातीय विभेद स्वीकार गर्न नसकिने बताइन्।

‘सनातन धर्मले कुनै जात चिन्दैन, कुनै थरका आधारमा मानिसलाई ठूलो वा सानो ठान्दैन। हाम्रो धर्मको मूल भावना समभाव, सहअस्तित्व र मानव मर्यादा हो। त्यसैले धर्म र परम्पराको नाममा जातीय विभेदलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन,’ सामाजिक सञ्जालमा उनले लेखेकी छन्।

छठ पर्व आस्था, श्रद्धा, समर्पण र समानताको पर्व भएको उल्लेख गर्दै ओलीले एउटै पोखरीमा सूर्यलाई अर्घ्य दिँदासमेत जातका आधारमा छुट्टाछुट्टै घाट र पण्डाल बनाइनु लज्जास्पद, अमानवीय र निन्दनीय व्यवहार भएको टिप्पणी गरेकी छन्।

‘छठ पर्व आस्था, श्रद्धा, समर्पण र समानताको पर्व हो। सूर्य सबैका हुन्, छठी माता सबैकी हुन्। तर एउटै पोखरीमा सूर्यलाई अर्घ्य दिँदासमेत जातका आधारमा छुट्टाछुट्टै घाट र पण्डाल बनाइनु अत्यन्तै लज्जास्पद, अमानवीय र निन्दनीय व्यवहार हो,’ उनले भनिन्।

ओलीले जातका आधारमा छठ घाटमा विभेद गर्ने, सार्वजनिक जलाशयमा समान धार्मिक सहभागिताबाट कसैलाई वञ्चित गर्ने तथा यस्तो व्यवहारलाई संरक्षण गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेकी छन्।

यस विषयमा सम्बन्धित स्थानीय तह, प्रशासन र प्रहरीको तत्काल ध्यानाकर्षण गराउँदै ओलीले भनेकी छन्, ‘विभेद हाम्रो शास्त्रले होइन, व्यक्तिको मानसिकताले हुन्छ।’

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This