काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले छठ पर्वका क्रममा जातका आधारमा घाट र पण्डाल छुट्याएर विभेद गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्।

सनातन धर्मले जात वा थरका आधारमा मानिसबीच ठूलो–सानोको भेद नगर्ने उल्लेख गर्दै उनले धर्म र परम्पराको नाममा हुने जातीय विभेद कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएकी हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले सनातन धर्मको मूल भावना समभाव, सहअस्तित्व र मानव मर्यादा भएको उल्लेख गरेकी छन्। उनका अनुसार छठ पर्व आस्था, श्रद्धा, समर्पण र समानताको प्रतीक हो।

एउटै पोखरीमा सूर्यलाई अर्घ्य दिँदासमेत जातका आधारमा छुट्टाछुट्टै घाट र पण्डाल निर्माण गरिनु लज्जास्पद, अमानवीय र निन्दनीय व्यवहार भएको उनको टिप्पणी छ। सूर्य र छठी माता सबैका साझा भएकाले धार्मिक आस्थामा जातीय विभेद गर्न नहुने उनले बताएकी छन्।

ओलीले जातका आधारमा छठ घाटमा विभेद गर्ने, सार्वजनिक जलाशयमा समान धार्मिक सहभागिताबाट कसैलाई वञ्चित गर्ने तथा त्यस्तो व्यवहारलाई संरक्षण गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न माग गरेकी छन्।

उनले यस विषयमा सम्बन्धित स्थानीय तह, प्रशासन र प्रहरीको तत्काल ध्यानाकर्षणसमेत गराएकी छन्। ‘विभेद हाम्रो शास्त्रले होइन, व्यक्तिको मानसिकताले हुन्छ,’ ओलीले भनेकी छन्।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This