जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसले जातीय पहिचान र पहाडले राजनीतिक दलको घेराभन्दा माथि उठिसकेको उल्लेख गर्दै अब नेपाली जनतालाई थप सार्वभौम बनाउने दिशामा अघि बढ्नुपर्ने बताएका छन् ।
जनकपुरधामस्थित जानकी मन्दिर परिसरबाट नेता अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्रालाई शुभकामना दिँदै लामिछानेले यस्तो धारणा व्यक्त गरेका हुन् ।
छठ पर्वको अवसरमा पूजाआजाका लागि जनकपुरधाम पुगेका लामिछानेले सिंहको पदयात्राले राजनीतिक दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
उनले सिंहले लामो समयदेखि हिमाल, पहाड र मधेसलाई जोड्दै समग्र राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यसहित मेचीदेखि महाकालीसम्म पदयात्रा गर्ने योजना बनाउँदै आएको स्मरण गरे ।
छठ पर्वजस्तो पवित्र अवसर र जानकी मन्दिरजस्तो धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको स्थलबाट सद्भावको अभियान सुरु हुनु सकारात्मक रहेको उनको भनाइ थियो । जाति, लिङ्ग, धर्म, सम्प्रदाय र भौगोलिक विभाजनभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रमा राख्नुपर्नेमा उनले जोड दिए ।
लामिछानेले लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहेका सिंहको राजनीतिक यात्राले रास्वपाबाट नयाँ दिशा र निकास पाउने विश्वाससमेत व्यक्त गरे । उनले आगामी निर्वाचनको सन्दर्भ उल्लेख गर्दै सिंहको मेची–महाकाली पदयात्रा सफल होस् भन्ने शुभकामना दिए ।
कार्यक्रमका क्रममा लामिछानेले जानकी मन्दिर परिसरमा उपस्थित भक्तजन तथा सर्वसाधारणप्रति आभार व्यक्त गरेका थिए ।
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार















प्रतिक्रिया