काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धिका लागि नागरिकको जीवनस्तर सुधारसँगै भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले विकासका लक्ष्य हासिल गर्न सबै पक्षबीच साझा प्रयास, सहकार्य र निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरे।

छठ पर्व मनाउन मधेस पुगेका सभामुख अर्यालले आज दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको भेटघाट कार्यक्रममा बोल्दै मधेसको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए।

उनले मधेसको समग्र विकासका लागि परिणाममुखी योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखे। कृषिमा आधारित उद्योगधन्दाको विकास गर्न सके रोजगारीका अवसर सिर्जना हुने र युवाको विदेश पलायनसमेत न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।

यसपटक छठ पर्व मनाउन मधेस आउँदा यहाँको सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप र सहिष्णुताले आफूलाई प्रभावित पारेको सभामुख अर्यालले बताए। चाडपर्वमा देखिने एकता र सद्भावलाई विकास निर्माणमा समेत रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए।

राजनीतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले राजनीति सुशासन र विकासप्रति समर्पित हुनुपर्ने बताए। यसका लागि नागरिकले आफ्ना जनप्रतिनिधिलाई निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले संसद्ले दीर्घकालीन महत्व राख्ने कानुन निर्माण तथा संविधान संशोधनका विषयमा गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए। आगामी पुस्ताले समेत वर्तमान पुस्ताको कामप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्नु सबैको जिम्मेवारी भएको उनले उल्लेख गरे।

वीरगञ्जमा छठ पर्व मनाएर हुलाकी सडक हुँदै बर्दिवास पुगेका सभामुख अर्याल स्थानीयसँगको भेटघाटपछि काठमाडौं फर्किएका छन्।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This