काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्कीले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि भोलि पहिलो सुनुवाइ हुने भएको छ ।
यसअघि सोमबारका लागि पेसी तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन नसकेपछि भोलिका लागि पेसी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले आफूलाई प्रहरी महानिरीक्षककै पदमा पुनर्वहाली गर्न माग गर्नुका साथै नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्न पनि अदालतसँग आग्रह गरेका छन् ।
सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो ।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया