काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताको माग गर्दै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याउनेमाथि कारबाही नभएको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी, गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भइरहेको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको मुख्य कारण बनाएको छ ।
प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध गराउनुपर्ने लोककल्याणकारी विज्ञापनको रकमसमेत रोकिएको महासंघको आरोप छ । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदार व्यवहार देखाएको भन्दै महासंघले आफ्ना माग सम्बोधन गर्न दबाब दिने जनाएको छ ।
यस्ता छन् महासंघका आन्दोलनका कार्यक्रम
महासंघले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम छ ।
त्यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ । मंसिर ७ गते देशभरका जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन् ।
आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्ने महासंघले जनाएको छ । जिल्ला शाखाहरूको आयोजनामा हुने उक्त प्रदर्शनमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित पत्रकारहरू भेला हुनेछन् ।
महासंघले सरकारले आफ्ना माग सम्बोधन नगरे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया