काठमाडौं । सडक दुर्घटनामा परि बाबु–छोराको निधन भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ।

बर्दियाको गुलरियामा आफन्त भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका ६६ वर्षीय बुवा दलबहादुर खत्री सवार मोटरसाइकल गुलरिया–११ लालपुरमा मिनिफोर्स बससँग ठोक्किँदा उनीहरूको घटनास्थलमै निधन भएको हो। भारतमा रोजगारी गर्दै आएका उनीहरू तिहार मनाउन केही समयअघि मात्र नेपाल फर्किएका थिए।

गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनिफोर्स गाडी र नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको उनीहरूको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो। दुर्घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै आफन्त तथा स्थानीय बासिन्दाले नेपालगञ्ज–राजापुर सडक केही समय अवरुद्ध गरेका थिए। पछि सवारीधनी सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्ने सहमतिमा उनीहरूले शव बुझेका हुन्।

घटना भएको तीन दिनपछि सहमति जुटेसँगै मृतक बाबु–छोराको स्थानीय अगैयाघाटमा दाहसंस्कार गरिएको वडाध्यक्ष झगरु थारुले जानकारी दिएका छन्। चाडपर्वको खुसी साट्न परदेशबाट घर फर्किएका बाबु–छोराको अकाल निधनले खत्री परिवार र सिङ्गो ग्रामीण बस्तीलाई गहिरो शोकमा डुबाएको छ।

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com