काठमाडौं । दुबईबाट काठमाडौं आएका एक चिनियाँ नागरिकको साथबाट १ किलो ६०५ ग्राम सुनजस्तो देखिने पदार्थ बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसले नियमित चेकजाँचका क्रममा चिनियाँ नागरिक BINBIN LI लाई नियन्त्रणमा लिएको हो।
स्रोतका अनुसार मंसिर २ गते बिहान करिब ११ः४१ बजे हिमालयन एयरलाइन्सको उडान नम्बर H9353 मार्फत दुबईबाट काठमाडौं आएका लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार क्षेत्रको वाक थ्रु गेटमा नियमित जाँच गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो।
उनले हातमा बोकेको ज्याकेटको गोजीभित्र लुकाएर ल्याएका सुनजस्तो देखिने तरल पदार्थका चारवटा डल्ला फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद पदार्थको कुल तौल १ किलो ६०५ ग्राम रहेको छ।
नियन्त्रणमा लिइएका चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया