दैलेख । दैलेखमा एक व्यक्तिले आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गर्दा तीन जनाको ज्यान गएको छ। मृत्यु हुनेमा श्रीमती र दुई बालबालिका रहेका छन् भने गम्भीर घाइते एक छोराको उपचार भइरहेको छ।
घटना चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा शुक्रबार बिहान भएको हो। प्रहरीका अनुसार ३८ वर्षीय अम्बर सलामी मगरले सामान्य घरायसी विवादका क्रममा दाउरा काट्ने बन्चरोले परिवारका सदस्यहरूमाथि आक्रमण गरेका थिए।
उनले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्माको टाउकोमा बन्चरो प्रहार गरेका थिए। आक्रमणबाट चारै जना गम्भीर घाइते भएका थिए।
प्रहरी चौकी हाँडाकोटका अनुसार शुक्रबार बिहान करिब ९ः३५ बजे घटना भएको हो। घटनापछि घाइते चारै जनालाई एम्बुलेन्समार्फत उपचारका लागि दुल्लु नगर अस्पताल पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले परीक्षण गर्दा १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिस्मालाई बिहान ११ः१० बजे मृत घोषणा गरेका थिए। गम्भीर घाइते मनिषा र ६ वर्षीय मिलनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको थियो।
सुर्खेत अस्पतालमा दिउँसो २ बजे पुर्याइएकी मनिषाको उपचारकै क्रममा १० मिनेटपछि मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते मिलनको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटरको दूरीमा रहेको बताइएको छ।
श्रीमती र सन्तानमाथि बन्चरो प्रहार गर्ने अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया