काठमाडौं । जापानको चर्चित सांगीतिक समूह गोडाइगो ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुति दिन आउने भएको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ६ गते काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ मा गोडाइगोले विशेष प्रस्तुति दिने भएको हो।

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

महोत्सवको प्रमुख आकर्षण जापानी सांगीतिक समूह गोडाइगोको प्रस्तुति रहनेछ। यसअघि सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक सांगीतिक प्रस्तुति दिएको उक्त समूह ४६ वर्षपछि नेपाली दर्शकमाझ फर्किन लागेको हो।

महोत्सवमा जापानका चर्चित हिपहप कलाकार मम्मी–डीले समेत प्रस्तुति दिनेछन्। नेपाली संगीततर्फ कुटुम्ब, कववेभ तथा सविन राई एन्ड द फराहोको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

संगीत र संस्कृतिको उत्सवका रूपमा आयोजना हुन लागेको महोत्सवले मनोरञ्जनसँगै मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ। भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले करिब ३० लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

आयोजकका अनुसार गोडाइगोले जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रमका क्रममा संकलन गरेको रकममध्ये नेपाली रुपैयाँ करिब ३० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएको हो।

सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच शिक्षा, संस्कृति, पर्यटन र व्यापारलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। सात दशक लामो मित्रता र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

महोत्सवमा नेपाली र जापानी कला, संस्कृति, संगीत तथा परम्पराको प्रस्तुतिसँगै विभिन्न सांस्कृतिक गतिविधिसमेत सञ्चालन गरिनेछ। यसले दुई देशका नागरिकबीच सांस्कृतिक आदानप्रदान बढाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ पुस्तासम्म विस्तार गर्ने लक्ष्य राखिएको महोत्सवमा सहभागी हुन सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com