कसरी माओवादी हिंसात्मक गतिविधिले सेनालाई निर्णायक रूपमा द्वन्द्वमा प्रवेश गर्न बाध्य बनायो ?

शाही नेपाली सेनालाई द्वन्द्वमा कसले तान्यो?

नेपालमा एक दशकसम्म चलेको माओवादी सशस्त्र विद्रोह यस्तो द्वन्द्व थिएन, जसमा शाही नेपाली सेना (RNA) स्वेच्छाले वा कुनै कारणबिना प्रवेश गरेको होस्। यो द्वन्द्व वि.सं. २०५२ फागुन १ (सन् १९९६ फेब्रुअरी) मा तत्कालीन नेकपा (माओवादी) ले राज्यविरुद्ध सुरु गरेको सशस्त्र अभियानबाट क्रमशः विकसित भएको थियो। यस अभियानको निशाना राज्यका संवैधानिक संरचना, सुरक्षा निकाय, निर्वाचित जनप्रतिनिधि, सार्वजनिक पूर्वाधार तथा सर्वसाधारण नागरिकसमेत बने।

सुरुमा सामान्य प्रहरी कारबाहीबाट नियन्त्रण गर्न सकिने विद्रोहका रूपमा हेरिएको यो गतिविधि क्रमशः राष्ट्रव्यापी सशस्त्र विद्रोहमा परिणत भयो। प्रहरी चौकीहरूमाथि आक्रमण भए, सुरक्षाकर्मीहरूलाई घात लगाएर हत्या गरियो, सरकारी कार्यालयहरू ध्वस्त पारिए, बैंकहरू लुटिए, सार्वजनिक पूर्वाधारमा तोडफोड गरियो र राजनीतिक व्यक्तिहरूको हत्या गरियो। यस्ता घटनाको संख्या, तीव्रता र भौगोलिक विस्तार बढ्दै जाँदा नेपाल प्रहरीको नियमित क्षमताले मात्र परिस्थितिलाई नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना भयो।

शाही नेपाली सेना सशस्त्र द्वन्द्वको सुरुवातकर्ता/कारक थिएन भन्ने महत्त्वपूर्ण तथ्य यस लेखमा प्रस्तुत घटनाक्रमहरुले स्पष्ट पार्छ । माओवादीले राज्यका प्रशासनिक तथा सरकारी निकाय तथा संस्थाहरू र सुरक्षा संयन्त्रमाथि निरन्तर आक्रमण गर्दै द्वन्द्वलाई विस्तार गरेपछि सेना क्रमशः त्यसमा संलग्न हुन बाध्य भएको थियो। तर यस तथ्यले तत्कालीन सरकारहरूको जिम्मेवारीलाई भने कम गर्दैन। बरु यसले सरकारहरूले विद्रोहलाई राजनीतिक, प्रशासनिक र सुरक्षा संयन्त्रको समन्वयबाट नियन्त्रण गर्न किन सकेनन् भनेर एउटा गम्भीर राजनीतिक प्रश्न अवस्य उठाउँछ। अन्ततः किन राष्ट्रिय सुरक्षाको यति ठूलो जिम्मेवारी सेनाको काँधमा मात्र आइपर्‍यो?

राजनीतिक तथा संस्थागत पृष्ठभूमि: (सुरुमा सेना परिचालन गर्न गरिएको अनिच्छा)

माओवादी विद्रोहको इतिहासमा सरकारको प्रारम्भिक प्रतिक्रिया र पछि सेनाको परिचालनबीचको भिन्नता बुझ्नु अत्यन्त आवश्यक छ। राजा वीरेन्द्रको शासनकालमा शाही नेपाली सेनालाई माओवादी विद्रोह नियन्त्रण गर्ने प्रमुख शक्तिका रूपमा परिचालन गरिएको थिएन। राजा वीरेन्द्रले सामान्यतः प्रहरी तथा राजनीतिक र प्रशासनिक उपायबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राखेको देखिन्छ। यसै कारण विद्रोहको प्रारम्भिक चरणमा नेपाल प्रहरीले नै यसको सामना गर्नुपर्‍यो। तर माओवादी विद्रोह क्रमशः संगठित, सशस्त्र र रणनीतिक रूपमा आक्रामक बन्दै गयो। त्यसको तुलनामा प्रहरीसँग पर्याप्त तालिम, जनशक्ति र आवश्यक सैन्य क्षमता थिएन। परिणामस्वरूप:

 दुर्गम क्षेत्रका प्रहरी चौकीहरूमा पटक पटक आक्रमण गरियो।

प्रहरीहरू मारिए, अपहरणमा परे र उनीहरूका हतियार लुटिए।

सरकारी कार्यालय तथा प्रशासनिक प्रतिष्ठानहरूमा आक्रमण गरियो।

बैंक तथा सार्वजनिक वित्तीय संस्थाहरू लुटिए।

जिल्ला सदरमुकामहरूमाथि समेत समन्वित आक्रमण हुन थाल्यो।

दुर ग्रामीण क्षेत्रहरुमा राज्यको प्रशासनिक उपस्थिति अत्यन्त कमजोर हुँदै गयो।

विभिन्न प्रतिवेदन अनुसार माओवादी आक्रमण तथा सुरक्षा अवस्थाका कारण ठूलो संख्यामा प्रहरी चौकीहरू बन्द वा विस्थापित भएका थिए। यो अवस्था अब सामान्य कानुनी व्यवस्था र शान्ति सुरक्षाको समस्या मात्र रहेन। यो क्रमशः राष्ट्रिय सुरक्षाको गम्भीर संकटमा परिणत भइसकेको थियो।

निर्णायक मोड: माओवादी गतिविधिले सेनालाई द्वन्द्वमा तान्यो

सन् २००१ अर्थात् वि.सं. २०५८ का घटनाहरू यस द्वन्द्वको इतिहासमा विशेष महत्त्व राख्छन्। २०५८ साल असार २८ गते रोल्पाको होलेरी प्रहरी चौकीमाथि माओवादी आक्रमण भयो। त्यस क्रममा ६९ जना प्रहरी तथा दुई सर्वसाधारण अपहरणमा परे। उनीहरूको उद्धार तथा अवस्थाको व्यवस्थापनका लागि सेनालाई सीमित रूपमा परिचालन गरियो। तर सेनाले माओवादीसँग प्रत्यक्ष सैन्य मुठभेड नगरी उक्त क्षेत्रबाट फिर्ता भएको थियो। यस घटनापछि सेना परिचालनको अधिकार र सरकारको निर्णय प्रक्रिया सम्बन्धी विवाद चर्कियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपर्‍यो।

यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शान्ति वार्ताको अर्को प्रयास सुरु भयो। वि.सं. २०५८ भाद्र १४ गते (सन् २००१ अगस्ट ३०) मा युद्धविराम घोषणा गरियो र माओवादीसँग वार्ता अघि बढाइयो। तर यो अवसर पनि सफल हुन सकेन। २३ नोभेम्बर २००१ अर्थात् वि.सं. २०५८ मंसिर ८ मा माओवादीले एकाएक वार्ता प्रक्रिया त्याग्दै विभिन्न  जिल्लाहरूमा प्रहरी तथा सैनिक क्याम्प  तथा सरकारी प्रतिष्ठानहरूमाथि समन्वित आक्रमण सुरु गरे।

दाङको घोराहीस्थित सैनिक गुल्म ब्यारेकमाथिको आक्रमण र अन्य प्रहरी तथा सुरक्षा निकायमाथि एकैसाथ गरिएका आक्रमणले माओवादी अब स्थानीय प्रहरी चौकीविरुद्ध मात्र सीमित नरहेको स्पष्ट पार्‍यो। उनीहरूले राज्यको सैन्य क्षमता र सार्वभौम अधिकारलाई नै प्रत्यक्ष चुनौती दिन थालेका थिए। यसपछि तत्कालीन शेरबहादुर देउवा सरकारले वि.सं. २०५८ मंसिर ११ मा देशभर संकटकाल घोषणा गर्‍यो र शाही नेपाली सेना आन्तरिक सुरक्षाको प्रमुख भूमिकामा प्रवेश गर्‍यो।

यो घटनाक्रमलाई इतिहासमा सही रूपमा बुझ्नुपर्छ। राजा वीरेन्द्रको सेनालाई परिचालन गर्न अनिच्छा र राजा ज्ञानेन्द्रको शासनकालमा भएको औपचारिक सेना परिचालन एउटै कुरा होइन। २०५८ मंसिरमा सेनाको औपचारिक परिचालन हुँदा राजा ज्ञानेन्द्र राष्ट्रप्रमुख थिए। त्यसबेला सरकार, मन्त्रिपरिषद् तथा संकटकालीन संवैधानिक व्यवस्थाको पनि महत्त्वपूर्ण भूमिका थियो। यसरी हेर्दा माओवादीले वार्ताको अवसर त्यागेर सुरक्षा तथा सरकारी प्रतिष्ठानहरूमाथि समन्वित आक्रमण गरेपछि द्वन्द्वको प्रकृति नै परिवर्तन भएको थियो।

प्रतिविद्रोहको जिम्मेवारी: सेनाले सैन्य जिम्मेवारी मात्र होइन, राज्यको भारसमेत बोक्नुपर्‍यो

सेनाको परिचालन सरकारको समग्र राष्ट्रिय प्रतिविद्रोह रणनीतिको एउटा अंग हुनुपर्थ्यो। प्रतिविद्रोह (Counter Insurgency Operations) भनेको केवल सैन्य कारबाही मात्र होइन। यसका लागि राजनीतिक, कूटनीतिक, गुप्तचर, सुरक्षा, आर्थिक, प्रशासनिक, न्यायिक तथा विकाससम्बन्धी सबै उपायको समन्वय आवश्यक हुन्छ।सरकारको जिम्मेवारी भनेको स्पष्ट राजनीतिक उद्देश्य निर्धारण गर्नु, राज्यका विभिन्न निकायबीच समन्वय गर्नु, आवश्यक स्रोतसाधन परिचालन गर्नु, विद्रोहका मूल कारण सम्बोधन गर्नु र दीर्घकालीन राजनीतिक समाधानको वातावरण तयार गर्नु हो। सेनाको जिम्मेवारी भनेको राज्यले निर्धारण गरेको संवैधानिक तथा राजनीतिक सीमाभित्र रहेर तोकिएको सुरक्षा कार्यभार पूरा गर्नु हो। तर नेपालको अनुभवले एउटा गम्भीर संस्थागत कमजोरी उजागर गर्‍यो। द्वन्द्व चर्किंदै जाँदा माओवादी विद्रोह नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी क्रमशः सेनामाथि केन्द्रित हुँदै गयो।

सैनिक क्याम्पहरुको सुरक्षा, जिल्ला सदरमुकामको संरक्षण, सैन्य कारबाही, महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा, सरकारी उपस्थिति पुनःस्थापना तथा बढ्दो आक्रामक आक्रमणको सामना गर्ने जिम्मेवारी सेनाले बहन गर्नुपर्‍यो। तर अर्कोतर्फ राजनीतिक नेतृत्व भने सरकार परिवर्तन, राजनीतिक स्वार्थ, सत्ता समीकरण र राष्ट्रिय सहमतिको अभावबाट मुक्त हुन सकेन।

समस्या सेनाले आफ्नो जिम्मेवारी पूरा गर्न चाहेन भन्ने थिएन। समस्या के थियो भने प्रतिविद्रोह अभियानका राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी जिम्मेवारीहरू पनि क्रमशः सैनिक जिम्मेवारीको छायामा पर्न थाले। सेनाले कुनै क्षेत्रलाई सुरक्षित बनाउन सक्थ्यो, सुरक्षा प्रतिष्ठानको रक्षा गर्न सक्थ्यो र सशस्त्र खतरालाई निष्क्रिय पार्न सक्थ्यो। तर उसले एक्लै राजनीतिक असन्तुष्टि समाधान गर्न, जनताको विश्वास पुनःस्थापित गर्न, रोजगारी सिर्जना गर्न, न्याय प्रदान गर्न वा प्रभावकारी स्थानीय शासन स्थापना गर्न सक्दैनथ्यो। यी सम्पूर्ण जिम्मेवारी सरकार र राज्यका अन्य निकायहरूको थियो।

राजनीतिक नेतृत्व र रणनीतिक असफलताको मूल्य

यस द्वन्द्वको सबैभन्दा दुःखद पक्षमध्ये एउटा राष्ट्रिय सुरक्षाको गम्भीर संकट र तत्कालीन राजनीतिक नेतृत्वको प्राथमिकताबीच देखिएको असन्तुलन थियो।सरकारहरू पटक पटक परिवर्तन भए। राजनीतिक दलहरूबीच सत्ता, प्रधानमन्त्री पद र मन्त्री पदका लागि प्रतिस्पर्धा चलिरह्यो। उता माओवादी विद्रोह भने निरन्तर फैलिँदै गयो। त्यसबेला मुलुकलाई एकीकृत राजनीतिक दृष्टिकोण, राष्ट्रिय सुरक्षा रणनीतिमा निरन्तरता र साझा राष्ट्रिय प्रतिबद्धताहरुको अत्यन्त  आवश्यक थियो। तर देशले राजनीतिक अस्थिरता, नेतृत्व परिवर्तन र नीतिगत अन्योलको सामना गरिरह्यो। तत्कालीन सरकारले कुनै प्रयास नै गरेन भन्नु पनि उचित हुँदैन। शान्ति वार्ता, युद्धविराम, कानुनी पहल, सुरक्षा सुधार र राजनीतिक समाधानका प्रयास भएका थिए। २०५८ भाद्र १४ (सन् २००१) को वार्ता र २०६० बैशाख १४ गते (सन् २००३) को युद्धविराम यसका उदाहरण हुन्। तर ती प्रयासहरूले दीर्घकालीन समाधान दिन सकेनन्। सरकारले सेना परिचालन प्रतिविद्रोह रणनीतिको एउटा उपाय मात्र हो, सम्पूर्ण समाधान होइन भन्ने कुरा बुझ्न आवश्यक थियो। माओवादीलाई मारेर वा सैन्य रूपमा समाप्त पारेर मात्र विद्रोहको अन्त्य गर्न सकिन्छ भन्ने सोच रणनीतिक रूपमा अपर्याप्त थियो। विद्रोहका राजनीतिक, संगठनात्मक तथा सामाजिक आधारहरू सम्बोधन नगरी केवल सैन्य कारबाहीबाट स्थायी शान्ति स्थापना गर्न सम्भव हुँदैनथ्यो। सशस्त्र विद्रोह सुरु गर्ने र त्यसलाई विस्तार गर्ने जिम्मेवारी माओवादी नेतृत्वको थियो। तर त्यसको प्रभावकारी राष्ट्रिय प्रतिकार गर्ने जिम्मेवारी सरकारको थियो। यी दुई फरक तर उत्तिकै महत्त्वपूर्ण जवाफदेहिताका विषय हुन्।

मानवीय क्षति र जवाफदेहिताको प्रश्न

यस द्वन्द्वको जिम्मेवारी कसको थियो भन्ने प्रश्न राजनीतिक भाषण, आफूअनुकूल इतिहासको व्याख्या वा कुनै एउटा पक्षको दाबीबाट मात्र निर्धारण हुन सक्दैन। २०७६ सालको पुसमा (सन् २०२० जनवरी) पुष्पकमल दाहाल ले द्वन्द्वमा मारिएका ५,००० जनाको मृत्युको जिम्मेवारी आफूले लिन तयार रहेको तर बाँकी करिब १२,००० जनाको मृत्यु राज्य पक्षबाट भएको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले नेपाली राजनीतिक तथा कानुनी  वृत्तमा ठूलो बहस सिर्जना गरेको थियो। तर यस विषयमा ऐतिहासिक तथ्य र अभिलेखको सम्पूर्णता हेर्न आवश्यक छ।

राष्ट्रिय मानव अधिकार आयोगको एउटा प्रतिवेदनले विद्रोह सुरु भएदेखि सन् २००६ जुनसम्म १३,२५६ जनाको मृत्यु भएको विवरण प्रस्तुत गरेको छ। उक्त प्रतिवेदनअनुसार ४,९२० जनाको मृत्यु माओवादी पक्षबाट र ८,३३६ जनाको मृत्यु राज्य पक्षबाट भएको उल्लेख छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (OHCHR) को प्रतिवेदनले पनि औपचारिक द्वन्द्व अन्त्य हुँदासम्म कम्तीमा १३,००० जनाको ज्यान गएको उल्लेख गरेको छ। उक्त प्रतिवेदनमा माओवादी पक्ष र सरकारी सुरक्षा निकाय दुवैबाट भएका गम्भीर मानव अधिकार तथा मानवीय कानुन उल्लङ्घनका घटनाहरू अभिलेख गरिएको छ।

यी तथ्यांकलाई कुनै व्यक्तिको व्यक्तिगत आपराधिक जिम्मेवारी निर्धारण गर्ने न्यायिक फैसला मान्न मिल्दैन। तर यसले माओवादी हिंसा काल्पनिक, सामान्य वा नगण्य थिएन भन्ने स्पष्ट गर्छ। प्रहरी चौकीमाथिका आक्रमण, सैनिक प्रतिष्ठानमाथिका हमला, सर्वसाधारण बोकेका बसमाथिका आक्रमण, सरकारी कार्यालयको विनाश, सार्वजनिक पूर्वाधारको ध्वंस तथा व्यक्तिहरूको हत्या इतिहासका अभिलेखित घटना हुन्। कुनै राजनीतिक आन्दोलनले सशस्त्र द्वन्द्वबाट प्राप्त राजनीतिक उपलब्धिको सम्पूर्ण श्रेय लिन खोज्दै त्यही आन्दोलनको नाममा भएका हिंसात्मक गतिविधिबाट भने पन्छिन मिल्दैन।

त्यसैगरी राज्यले पनि आफ्ना सुरक्षा निकायबाट भएका गैरकानुनी हत्या, यातना, बेपत्ता पार्ने कार्य तथा अन्य मानव अधिकार उल्लङ्घनको जिम्मेवारीबाट उम्कन मिल्दैन। जवाफदेहिता सबैका लागि समान हुनुपर्छ, छनोटका आधारमा होइन। माओवादी नेतृत्वले आफ्नो सशस्त्र संगठनका निर्णय, आदेश, कारबाही र नीतिहरूको जिम्मेवारी लिनुपर्छ। तत्कालीन सरकार र सुरक्षा निकायहरूले पनि आफ्ना निर्णय तथा उल्लङ्घनहरूको जिम्मेवारी लिनुपर्छ। कुनै पनि पक्षलाई वर्तमान राजनीतिक स्वार्थका लागि इतिहास पुनर्लेखन गर्ने छुट हुनुहुँदैन। तत्कालिन संकटकाल (४ बर्ष )अवधिभरका  सरकार तथा सरकार प्रमुखहरु:

शेरबहादुर देउवा  कार्यकाल: वि.सं. २०५२ भदौ २७ – २०५३ फागुन २९ (पहिलो पटक),  लोकेन्द्रबहादुर चन्द  कार्यकाल: वि.सं. २०५३ फागुन २९ – २०५४ असोज २१ (तेस्रो पटक)  सूर्यबहादुर थापा  कार्यकाल: वि.सं. २०५४ असोज २१ – २०५५ वैशाख २ (चौथो पटक)  गिरिजाप्रसाद कोइराला  कार्यकाल: वि.सं. २०५५ वैशाख २ – २०५६ जेठ १७ (दोस्रो पटक) कृष्णप्रसाद भट्टराई  कार्यकाल: वि.सं. २०५६ जेठ १७ – २०५६ चैत्र ९ (दोस्रो पटक) गिरिजाप्रसाद कोइराला  कार्यकाल: वि.सं. २०५६ चैत्र ९ – २०५८ साउन ११ (तेस्रो पटक)  शेरबहादुर देउवा कार्यकाल: वि.सं. २०५८ साउन ११ – २०५९ असोज २५ (दोस्रो पटक)  लोकेन्द्रबहादुर चन्द  कार्यकाल: वि.सं. २०५९ असोज २५ – २०६० जेठ २२ (चौथो पटक) सूर्यबहादुर थापा कार्यकाल: वि.सं. २०६० जेठ २२ – २०६१ जेठ २१ (पाँचौँ पटक) शेरबहादुर देउवा कार्यकाल: वि.सं. २०६१ जेठ २१ – २०६१ माघ १९ (तेस्रो पटक) राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन (वि.सं. २०६१ माघ १९ देखि २०६३ वैशाख ११ सम्म ) गिरिजाप्रसाद कोइराला  कार्यकाल: वि.सं. २०६३ वैशाख ११ – २०६५ जेठ १५ सम्म (र त्यसपछि गणतन्त्र स्थापना भएपश्चात् पनि वि.सं. २०६५ भदौ २ सम्म चौथो पटक)

गणेशपुरको लडाइको महत्त्व

१७ फागुन २०६१ बर्दिया जिल्लाको गणेशपुरमा भएको लडाइँ यस द्वन्द्वको सैन्य इतिहासमा विशेष महत्त्व राख्छ। घटनाक्रमअनुसार यसलाई २०६१ सालमा सैनिक गस्ती तथा सुरक्षा निकायहरुमाथि भएका आक्रमणहरूको व्यापक शृङ्खलाभित्रको एउटा घटना थियो । त्यसबेलासम्म माओवादी विद्रोहले उल्लेखनीय सैन्य तथा संगठनात्मक क्षमता विकास गरिसकेको थियो। आक्रमणहरू अब प्रहरी चौकीमा मात्र सीमित थिएनन्। सैनिक गस्ती, सुरक्षा आधार शिविर, सडक आवागमन र अन्य महत्त्वपूर्ण सुरक्षा प्रतिष्ठानसमेत प्रत्यक्ष निशानामा पर्न थालेका थिए।

यस अवधिमा खैरीखोला, खिमडी, पाण्डौन, डडेल्धुरा, सुरईनाका, सिस्नेखोला, कर्णाली चिसापानी, मालबासे र बरबोटेमा भएका आक्रमणहरूले सुरक्षा निकायमाथि बढ्दै गएको दबाबलाई स्पष्ट पार्छन्। त्यसैले गणेशपुरको लडाइँलाई क्रमशः संगठित र भौगोलिक रूपमा फैलिँदै गएको सशस्त्र विद्रोहको सुरक्षा परिवेशभित्र हेर्नुपर्छ। यो लडाइँ द्वन्द्वमा सहभागी सैनिकहरूको त्याग, बलिदान र सैन्य अनुभवलाई अभिलेखित गर्ने दृष्टिले पनि महत्त्वपूर्ण छ। त्यस समयमा सेवा गरेका सैनिकहरूको अनुभवलाई तथ्यपरक, व्यावसायिक र ऐतिहासिक इमानदारीका साथ अभिलेखित गरिनुपर्छ। द्वन्द्वमा ज्यान गुमाएका सबैप्रति सम्मान व्यक्त गर्दै घटनाको वास्तविकता सार्वजनिक गरिनुपर्छ।

वास्तविक पाठ: प्रतिविद्रोहको जिम्मेवारी सेनालाई मात्र सुम्पिन सकिँदैन

नेपालको अनुभवले भविष्यका राजनीतिक तथा सैनिक नेतृत्वलाई एउटा महत्त्वपूर्ण पाठ दिएको छ। सेनाले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न, राज्यका संस्थाहरूको सुरक्षा गर्न, सुरक्षा कारबाही सञ्चालन गर्न र सशस्त्र खतरालाई निष्क्रिय पार्न सक्छ। तर सेनाले राजनीतिक नेतृत्वको स्थान लिन सक्दैन। सफल प्रतिविद्रोह अभियानका लागि निम्न पक्षहरू अपरिहार्य हुन्छन्:

राजनीतिक नेतृत्व: स्पष्ट राष्ट्रिय उद्देश्य, स्थिर सरकार र निरन्तर नीतिगत प्रतिबद्धता।

एकीकृत राष्ट्रिय सुरक्षा रणनीति: राजनीतिक संस्था, गुप्तचर निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाबीच प्रभावकारी समन्वय।

राजनीतिक संवाद: वास्तविक असन्तुष्टिहरूको सम्बोधन तथा वार्तामार्फत समाधान खोज्ने गम्भीर प्रयास।

प्रभावकारी शासन व्यवस्था: स्थानीय प्रशासन, न्याय, शिक्षा, स्वास्थ्य सेवा र आर्थिक अवसरहरूको पुनःस्थापना।

सूचनामा आधारित सुरक्षा कारबाही: भरपर्दो गुप्तचर सूचना, व्यावसायिक आचरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको पालना।

जवाफदेहिता: राजनीतिक वा संस्थागत आबद्धता जेसुकै भए पनि गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन र कारबाही।

नेपालको प्रतिविद्रोह अनुभवको प्रमुख कमजोरी केवल सैन्य कारबाहीको असफलता थिएन। यो राजनीतिक निरन्तरता, संस्थागत समन्वय र समग्र राष्ट्रिय रणनीतिको पनि असफलता थियो। सेनालाई अत्यन्त ठूलो जिम्मेवारी दिइयो, तर सरकारले आफ्नो सम्पूर्ण राजनीतिक जिम्मेवारी सेनालाई हस्तान्तरण गर्न सक्दैनथ्यो र गर्नु पनि हुँदैनथ्यो। सरकारको जिम्मेवारी शान्ति स्थापना गर्नु हो भने सेनाको जिम्मेवारी राज्यले तोकेको सुरक्षा कार्यभार पूरा गर्नु हो भन्ने यो भिन्नता अत्यन्त् महत्त्वपूर्णका साथ् हेरिनु पर्ने थियो।

इतिहासलाई पुनर्लेखन होइन, सत्यको अभिलेखीकरण आवश्यक छ

नेपालको माओवादी सशस्त्र विद्रोह शाही नेपाली सेना र एउटा सशस्त्र राजनीतिक आन्दोलनबीच अचानक उत्पन्न भएको द्वन्द्व थिएन। यसको सुरुवात २०५२ फागुनमा प्रहरी चौकीहरूमाथि भएका आक्रमणबाट भयो। त्यसपछि राज्यका संस्थाहरूमाथि संगठित हिंसात्मक गतिविधि, हत्या, अपहरण, सार्वजनिक पूर्वाधारको विनाश र ग्रामीण क्षेत्रमा राज्यको नियन्त्रण कमजोर बनाउने अभियानमार्फत यो विद्रोह विस्तार हुँदै गयो। सुरुमा राज्यले प्रहरी परिचालन गरेर विद्रोह नियन्त्रण गर्ने प्रयास गर्‍यो। तत्कालिन राजा श्री ५ वीरेन्द्रले सेनाको परिचालनप्रति अनिच्छा देखाए। राजनीतिक वार्ता र युद्धविरामका प्रयास भए। २०५८ साल असार २८ गते रोल्पाको होलेरीमा सेनाको सीमित परिचालनपछि पनि राजनीतिक समाधानको प्रयास जारी रह्यो।

तर माओवादीले वार्ता त्यागेर वि.सं. २०५८ मंसिर ८ मा सेना तथा प्रहरीका शिविर/ठेगानाहरूमाथि समन्वित आक्रमण गरेपछि द्वन्द्वले निर्णायक रूपमा सैन्य स्वरूप ग्रहण गर्‍यो। त्यसपछिको इतिहास ठूलो बलिदान, सैन्य चुनौती, मानवीय पीडा र राजनीतिक नेतृत्वको कमजोरीले भरिएको छ। त्यसैले सशस्त्र द्वन्द्वमा सेनालाई नै देशलाई युद्धमा धकेल्ने संस्था भनेर प्रस्तुत गर्नु ऐतिहासिक रूपमा गलत हुन्छ। त्यस्तै, सैन्य परिचालनले मात्र द्वन्द्व समाधान गर्न सक्थ्यो भन्नु पनि गलत हुन्छ सशस्त्र विद्रोह सुरु गर्ने र त्यसलाई विस्तार गर्ने जिम्मेवारी माओवादी नेतृत्वको थियो। त्यस संकटको व्यवस्थापन गर्ने, राजनीतिक समाधान खोज्ने, रणनीतिक निर्देशन दिने र राष्ट्रिय नेतृत्व प्रदान गर्ने जिम्मेवारी तत्कालीन सरकारहरूको थियो।

इतिहासलाई आफूअनुकूल व्याख्या गरेर कुनै पनि पक्षले आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। कुनै पनि राष्ट्रले आफ्नो द्वन्द्वको वास्तविकता बिर्सेर स्थायी शान्ति निर्माण गर्न सक्दैन। त्यस्तै, राजनीतिक सुविधाका लागि ऐतिहासिक जवाफदेहितालाई विस्थापित गरेर द्वन्द्वमा बलिदान गर्नेहरूको सम्मान पनि गर्न सकिँदैन। त्यस द्वन्द्वमा सहभागी सैनिक तथा सुरक्षाकर्मीहरू, पीडित सर्वसाधारण नागरिक, आफ्ना प्रियजन गुमाएका परिवार र राज्यको रक्षा गर्ने जिम्मेवारी बोकेका संस्थाहरू सबैले इतिहासको इमानदार मूल्याङ्कन पाउनुपर्छ। इतिहासले द्वन्द्वका कारण मात्र होइन, त्यसलाई लम्ब्याउने निर्णय र त्यसका परिणामहरूको पनि निष्पक्ष लेखाजोखा गर्नुपर्छ।

परिशिष्ट: माओवादी सशस्त्र विद्रोहका प्रमुख घटना तथा आक्रमणहरूको कालक्रम (वि.सं. २०५२–२०६४)

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com