काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचको सम्बन्धलाई लिएर रास्वपा सांसद अमरेशकुमार सिंहले दुई नेताबीच पूर्ण विश्वासको वातावरण नरहेको टिप्पणी गरेका छन्।
बिहीबार रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच करिब पाँच घण्टा लामो भेटवार्ता भएको थियो। भेटपछि दुई नेताको सम्बन्धबारे विभिन्न चर्चा भइरहेका बेला लाली गुराँस मिडियासँगको एक अन्तर्वार्तामा सांसद सिंहले त्यसलाई संकेत गर्दै प्रतिक्रिया दिएका हुन्।
दुई नेताबीचको सम्बन्धलाई लिएर सार्वजनिक भइरहेका समाचारबारे प्रतिक्रिया दिँदै सिंहले भने, ‘एउटा कुरा के हो भने, आगो नबली धुवाँ निस्कँदैन, यत्ति मात्रै बुझौँ।’
उनले दुई नेताबीच पूर्ण विश्वासको वातावरण नरहेको पनि बताएका छन्। सिंहको भनाइ थियो, ‘कम्प्लिट विश्वासको वातावरण छैन।’
बिहीबार बुढानीलकण्ठमा रवि र बालेनबीच पाँच घण्टा लामो भेटवार्ता भएको थियो। करिब पाँच घण्टा चलेको भेटमा समसामयिक राजनीति, आगामी निर्वाचन, सरकारको कार्यसम्पादन र पार्टीका गतिविधिबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको थियो।
सचिवालयका अनुसार भेटमा प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण, भ्रमणका क्रममा भएका छलफल तथा प्राप्त उपलब्धिबारे पनि कुराकानी भएको थियो। प्रधानमन्त्री शाहले भारत भ्रमणबारे लामिछानेलाई जानकारी गराएका थिए।
त्यस्तै, रास्वपाले सञ्चालन गर्न लागेको पार्टी प्रशिक्षण अभियान, आगामी निर्वाचनको तयारी, राजनीतिक परिस्थिति, विभिन्न मन्त्रालयको कार्यसम्पादन तथा मन्त्रीहरूको भूमिकाबारे पनि समीक्षा भएको बताइएको थियो।
अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत दुई नेताबीच छलफल भएको सचिवालयको भनाइ थियो। भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको पनि सचिवालयले जनाएको थियो।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार















प्रतिक्रिया