काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था देशको स्थायित्वका लागि आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनतावोध गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपा सम्बद्ध पूर्वप्रहरी परिषद्को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजसंस्थाको पक्षमा उभिनु कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको विषय नभएको स्पष्ट पार्दै देशको हित र स्थायित्वका लागि आफूहरूले राजसंस्था आवश्यक ठानेको बताए । राजाबाट व्यक्तिगत रूपमा विगत, वर्तमान वा भविष्यमा कुनै लाभको अपेक्षा नरहेको उल्लेख गर्दै उनले राजसंस्थाबारे नयाँ पुस्तामा भ्रम फैलाइएको दाबी गरे । राजा हुनु भनेको लोकतन्त्र नहुनु होइन भन्ने कुरा समाजमा बुझाउनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष लिङदेनले देशमा साढे तीन दशकदेखि नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूले शासन गर्दै आए पनि भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता जस्ता समस्या समाधान हुन नसकेको टिप्पणी गरे। उनले मुलुक भूराजनीतिक रूपमा समेत जोखिमतर्फ अघि बढिरहेको भन्दै समस्याहरू समयमै सम्बोधन नगरिए देश दुर्घटनामा पर्न सक्ने र नेताहरूले देश छाडेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

देशमा नयाँ राजनीतिक समझदारी आवश्यक रहेको धारणा राख्दै उनले समस्या व्यक्तिमा मात्रै नभई विद्यमान व्यवस्थामा समेत रहेको बताए । नेताहरू परिवर्तन हुँदै गए पनि समस्या यथावत रहनुले प्रणालीमै सुधार आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ । कसैलाई निषेध वा अपमान गरेर नभई सहमतिको आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै लिङ्देनले देशलाई पुनः द्वन्द्वमा जानबाट रोक्न नयाँ समझदारी गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com