सुनसरी । गृहमन्त्री सुधन गुरुङले नेताहरू जनतामाथि शासन गर्ने नभई उनीहरूको सेवक बनेर काम गर्नुपर्ने बताएका छन्। जनताबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेका व्यक्तिले जनताको सम्मान र अपेक्षालाई सधैँ प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले जनताप्रति उत्तरदायी हुन नसक्ने व्यक्तिले पुनः निर्वाचनमा उम्मेदवार बन्नुको औचित्य नरहने बताए।
गुरुङले राजनीतिक दल र झन्डाभन्दा देश माथि रहेको उल्लेख गर्दै दलगत आस्थाभन्दा माथि उठेर सबै नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिए। युवा पुस्तालाई पनि देशप्रतिको यही भावना र जिम्मेवारी सिकाउनुपर्ने उनको धारणा थियो।
नेपाली जनता र आफ्नो समुदायले गरेको विश्वासको सम्मान गर्दै सरकारले सुशासन कायम गर्न र देशलाई समृद्धिको बाटोमा अघि बढाउन प्रतिबद्ध भएर काम गर्ने उनले बताए। सुशासन र समृद्धिको अभियानलाई इतिहासले दिएको अन्तिम अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले यसका लागि आवश्यक सबै प्रयास गरिने स्पष्ट पारे।
यस अभियानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्, आफ्नै पार्टीपङ्क्ति तथा अन्य राजनीतिक दलका नेताहरूको साथ र सहकार्य रहने विश्वास पनि उनले व्यक्त गरे।
कठिन परिस्थितिमा आफूलाई साथ र सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका गुरुङ समुदायप्रति आभार व्यक्त गर्दै उनले समुदायको समर्थन र जनताको आशीर्वादले आफूलाई अघि बढ्ने प्रेरणा मिलेको बताए।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार













प्रतिक्रिया