काठमाडौं । निजी क्षेत्रको लगानी रहेको देशकै ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुर बापत नेपाल सरकारलाई झन्डै ५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ। योसँगै कम्पनीले कर तथा शुल्कहरुमा सरकारलाई गरको योगदान रकम करिब ३८० अर्ब पुगेको छ ।
एनसेल विगत दुई दशक भन्दा लामो समयबाट नेपालमा सञ्चालनमा रहेको छ । यो कम्पनीमा गैर आवसिय नेपाली सतिशलाल आचार्य र उनकी पत्नी भावना सिंह श्रेष्ठको प्रत्यक्ष अप्रत्यक्ष रुपमा शतप्रतिशत लगानी रहेको छ । यसले १ करोड ४० लाख भन्दा बढि नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आफूलाई लाग्ने कर समयमा नै बुझाउनु र सरकारी हरहिसाबमा स्वच्छ रही केही वक्यौता नहुनुले यसको वित्तिय क्षमता सरकारले शंका गरको जस्तो नरहेको देखिएको छ । एनसेलको शेयर खरिद बिक्रीलाई लिएर टंकमणि शर्मा दंगालको प्रतिवेदनमा आचार्यको प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता माथि प्रश्न खडा गरिएको थियो।
बलियो वित्तीय स्रोत, लगानी क्षमता र कुशल वित्तीय स्वास्थ्य रहेको पुष्टि गर्दै कम्पनीले बुझाएको रकममा नवीकरण दस्तुरको बाँकी किस्ताबापत ४ अर्ब २५ करोड रुपैयाँ सावाँ रहेको छ । त्यस्तै, २०८२ भदौ ७ देखि २०८३ असार मसान्तसम्मको ३२८ दिनको ब्याजबापत ६४ करोड ९२ लाख ६० हजार २ सय ७३ रुपैयाँ र २०८३ साउन १ देखि भदौ २ सम्मको ३३ दिनको ब्याजबापत ६ करोड ५३ लाख २१ हजार ९ सय १७ रुपैयाँ समावेश रहेको देखिन्छ ।
एनसेलले २०८२ भदौ ६ गतेसम्मको किस्ता तथा ब्याज रकम यसअघि नै भुक्तानी गरिसकेको थियो । गत बर्ष भदौ ६ गते कम्पनीले ३ अर्ब २९ करोड रुपैयाँ तथा त्यसअघि २०८२ असार २९ गते २ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । सरकारले एनसेललाई २० अर्ब रुपैयाँको मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुर चार किस्तामा बुझाउने सुविधा दिएको थियो । २०८१ भदौमा मन्त्रिपरिषद्ले बाँकी किस्तामा बार्षिक १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको थियो ।
करमा झण्डै ३ खर्ब ८० अर्ब योगदान, छैन केही वक्यौता
पछिल्लो दुई दशकमा नेपालमा आएको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको कम्पनीका रूपमा परिचित एनसेलले स्थापनाकाल देखिनै सरकारी ढुकुटीमा उल्लेख्य योगदान पु¥याउँदै आएको देखिएको छ । विविध शीषर्क मार्फत बुझाइने नियमित राजस्वले सरकारलाई स्थिर आम्दानी उपलब्ध गराउने मात्र नभई, विकास खर्चका लागि महत्त्वपुर्ण वित्तीय आधार पनि निर्माण गरेको छ । पछिल्ला वषर्हरूमा डिजिटल सेवाको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा दूरसञ्चार क्षेत्र सरकारी राजस्वको महत्त्वपुर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ ।
टेलिकम कम्पनीहरुले आफ्नो आम्दानीको ५० देखि ६० प्रतिशत सरकारलाई विभिन्न कर तथा शुल्कका रुपमा बुझाउने गरेका छन् । एनसेलले स्थापनादेखि हालसम्म सरकारलाई कर तथा विभिन्न शुल्कबापत गत आ.व को पहिलो ९ महिनासम्ममा करिब ३ खर्ब ७५ अर्ब रुपैयाँ योगदान गरिसकेको तथ्याङ्कले देखाएको छ ।
अनुमतिपत्र दस्तुर, नवीकरण शुल्क, रोयल्टी, दूरसञ्चार सेवा शुल्क, आयकरलगायत विभिन्न शीषर्कमा कम्पनीले सरकारलाई उक्त रकम बुझाएको हो । हालै दाखिला गरेको अनुमतिपत्र नविकरण दस्तुरको किस्ताले कम्पनीले हालसम्ममा झण्डै ३ खर्ब ८० अर्ब तिरेको देेखिएको छ।
मंसिर १५, २०८० मा एनसेलका तत्कालिन ८० प्रतिशतको लगानीकर्ता आजियाटा इन्भेष्मेन्ट यु.के. र स्पेक्ट्रलाईट यु.के. विचमा भएको रेनोल्ड होल्डिंसमा रहेको शेयर खरिद विक्रीको कारणबाट एनसेलमा भएको नियन्त्रणमा परिवर्तनको कारणबाट एनसेलले आयकर ऐन, २०५८ को दफा ५७ बोमोजिम स्वामित्व परिवर्तन हुनु अघि र पछिको छुट्टाछुट्टै वित्तीय विवरण पेश गरी कानून बमोजिम १४ फागुन २०८० मा ठूला करदाता कार्यालय, हरिहरभवन ललितपुरमा रु. १ अर्ब ६९ करोड कर दायित्वको भुक्तानी गरेको देखिन्छ । यदि उक्त कारोबारबाट थप कर दायित्व आई परेमा कानून बमोजिम निर्धारण हुने दायित्वलाई कानून बमोजिम भुक्तानी गर्ने प्रतिवद्धता समेत नेपाल सरकारलाई दिईसकेको छ ।
एनसेलको ८० प्रतिशत विदेशी शेयर लगानी पहिला रु. १४४ अर्बमा कारोबार भएकोमा पछिल्लोे पटक सोही रकम भन्दा कममा कारोबार भएको पहिला नै स्पष्ट भईसकेको छ र यस सम्बन्धमा खरिकर्ता, विक्रीकर्ताले सार्वजनिक रुपमा बोलि सकेको र सेयर सम्झौता समेत सम्बन्धित नियामक निकायहरुलाई बुझाई सकेको छ । त्यसमा केही गलत भएमा सरकारले अनुसन्धान गरी कारबाही गर्न सक्छ । तर सरकारले विशुद्ध व्यावसायिक कारोबारमा हस्ताक्षप गरेर पछिल्लो शेयर कारोबारलाई रोक्का राख्ने काम गरेको जानकारहरु बताउँछन्।
करकै सम्बन्धमा ठूला करदाता कार्यालयको केही कर निर्धारण आदेश उपर दुई मत भई विभाग, न्यायाधिकरण तथा अदालतमा विचाराधिन मुद्दाको विवादित कर बाहेक यस कम्पनीले कुनै कर दायित्व बाँकी राखेको अवस्था छैन भन्ने कुरा ठूला करदाता कार्यालयबाट प्रदान गरिएको पत्रहरुबाट स्पष्ट भएको देखिन्छ ।एनसेलले टेलियासोनेरा र आजियाटाको शेयर कारोबारका सम्बन्धमा पुँजिगत लाभकर नतिरेको भनेर अझै चर्चा परिचर्चा हुने गरेको छ, जुन गलत भएको प्रमाणित भएको छ।
एनसेलले यो शेयर कारोबार वापत कुल रु. ४७ अर्ब, ९९ लाख, ४३ हजार दुई सय ९७ विभिन्न मिति र किस्तामा तिरेको थियो जुन तल तालिकामा उल्लेख छ । एनसेलले सरकारी ढुकुटीमा २०७६ सालमा एकै आ.वमा रु ७६ अर्ब कर तिरेको एतिहासिक सरकारी रेकर्ड नै रहेको छ ।
- पुँजीगत लाभकर विभिन्न मिति र किस्तामा तिरेको तालिका
दाखिला मिति लाभकर तिरेको रकम ।
बैशाख २६, २०७३/ रु. ९,९६९,५७१,०४०
जेष्ठ २१, २०७४/ रु. २,०२६,२३४,८५१
जेष्ठ २१, २०७४/ रु. ११,५७८,४८४,८६०
पुष १५, २०७६/ रु. ४,५००,०००,०००
चैत १८, २०७६/ रु. ४,६००,०००,०००
चैत ३०, २०७६/ रु. १४,३३५,६५२,५४६
जम्मा पुँजिगत लाभकर दाखिला रु. ४७,००९,९४३,२९७
को हुन एनसेलका लगानीकर्ता सतिशलाल?
नेपाली मूलका सिङ्गापुरी व्यवसायी सतिशलाल आचार्य विगत केही महिना देखि चर्चामा छन्। नेपाल बाहिर रहेर विभिन्न देशमा कारोबार गर्दै आएका उनी पर्दापछाडि बसेरै काम गर्न रुचाउने वर्गमा पर्छन् । अझ भनौँ उनी त्यति धेरै चर्चामा आउन चाहँदैनन्। एनसेलमा विगतमा लगानी गर्दै आएका केही नेपाली व्यवसायी भन्दा निकै विपरीत उनी सार्वजनिक चर्चामा भन्दा पनि परिश्रम र नतिजामा केन्द्रित व्यवसायी रहेको बताइन्छ ।
सन् २०१६ देखि एनसेलसँग जोडिएका उनी सन् २०२३ यता भने असामान्य चर्चाका पात्र बन्न पुगे। नेपालको दूरसञ्चार ऐनले कुनै पनि विदेशी लगानीकर्तालाई दूरसञ्चार क्षेत्रमा ८० प्रतिशत भन्दा बढी लगानी गर्न दिँदैन। त्यस कारण सन् २०१६मा एनसेलबाट टेलियासोनेरा बाहिरिएर आजियाटा भित्रिदा उनी पत्नी भावना मार्फत एनसेलको २० प्रतिशत सेयर धनी बने। र सन् २०२३ मा उनको लगानी रहेको स्पेक्ट्रलाईट यूके मार्फत आजियाटासँग रहेको एनसेलको माउ कम्पनी रेनोल्ड होल्डिङ्को ८० प्रतिशत सेयर किन्न सफल भए। त्यसको अर्थ हो हाल उनी नेपालकै ठूलो बहुराष्ट्रिय कम्पनीका शतप्रतिशत लगानीकर्ता हुन।
तर, प्रख्यात चिकित्सक डाक्टर आइ एल आचार्यका जेठा छोरा सतिशलाल आचार्यको यो सफलता र सँगै जोडिएर आएको ख्याति उनका लागि अहिले गलपासो जस्तो बन्न पुगेको छ । टेलिकम क्षेत्रमा प्रवेश गरेसँगै सतिशलालले लामो समयदेखि एसिया–प्रशान्त क्षेत्र र अफ्रिकामा विभिन्न दूरसञ्चार कम्पनीहरूको व्यवस्थापन गर्दै आएका छन् ।
अहिले एसिया–प्रशान्त क्षेत्रको एक प्रमुख कम्पनीका रूपमा उनको व्यवसाय चिनिन्छ । उनको व्यापार व्यवसायको उपस्थिती १३ वटा देशमा रहेको बताइन्छ । उनले क्याम्बोडिया, तान्जानिया, बुरुण्डी, युगान्डा, सेरालियन र कंगोका ६ वटा मोबाइल सेवा सञ्चालन गरे र राम्रो नाफा हुने भएपछि छ वटै मुलुकको कम्पनी बिक्री गरेर नेपालसहित अन्य क्षेत्रमा लगानी विस्तारको योजना बनाएका थिए । यसका साथै आचार्यले ३२ वटा मुलुकमा कार्यालय खोलेर कम्प्युटर हार्डवेयर र सफ्टवेयर तथा आईटी सेवा दिँदै आएका छन् ।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया