काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा बलात्कारपछि बीभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको हृदयविदारक घटनाले स्तब्ध र आक्रोशित बनाएको बताएका छन् । यस्ता जघन्य अपराध कुनै पनि सभ्य र संवेदनशील समाजका लागि कदापि स्वीकार्य हुन नसक्ने उनले बताए ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘गरिमाका लागि न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा युवाहरूले उठाएको आवाजप्रति मेरो पूर्ण ऐक्यबद्धता छ। गरिमामाथिको अपराध केवल एउटा परिवारमाथिको पीडा होइन, यो हाम्रो राज्य, समाज र न्याय प्रणालीलाई नै गम्भीर प्रश्न हो। हाम्रा छोरीहरु भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व हो।’
यस घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न उनले सरकारसँग माग गरेका छन् ।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया