काठमाडौं । रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका नौ वटा शव भेटिएका छन् । बाढीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उनले जानकारी दिए । आँबुखैरेनी–४ पुलजीपदेखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका विभिन्न स्थानमा शव फेला परेको तिवारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार नदीमा फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेका छन् । फेला परेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि भरतपुर पठाइने उनले बताए । आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार जिल्लामा उपलब्ध सबै स्रोतसाधनसहित सम्बन्धित सबै टोलीलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ । सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सुरक्षा निकाय तथा सम्बन्धित टोलीलाई तयारी अवस्थामा राखिएको र आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने उनले बताए ।

यसैबीच, भानुबाट टिमुरेतर्फ गएको चालकसहित तीन जना सम्पर्कविहीन रहेको सूचना प्राप्त भएको प्रजिअ तिवारीले बताए । उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com