चितवन। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान नखुलेका २२९ शव तथा शवका अवशेषलाई जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार नदी किनार तथा विभिन्न स्थानबाट संकलन गरिएका शव र अवशेष सड्ने तथा गल्ने अवस्थामा पुगेपछि स्वास्थ्य विशेषज्ञहरूको सुझावका आधारमा व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगल क्षेत्रमा शव व्यवस्थापन गरिने भएको छ।
शव व्यवस्थापन गर्नुअघि प्रत्येक शवबाट डीएनए नमुना संकलन गरी सुरक्षित राखिनेछ। साथै, प्रत्येक शवलाई संकेत नम्बर प्रदान गरी आवश्यक विवरणसहित अभिलेखसमेत सुरक्षित राखिने प्रशासनले जनाएको छ।
यसरी अभिलेख र डीएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा आफन्तबाट खोजी वा पहिचानका लागि दाबी आएमा आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने प्रशासनको भनाइ छ।
प्रशासनले शोकको यस कठिन परिस्थितिमा बाध्यात्मक रूपमा लिनुपरेको निर्णयलाई सकारात्मक रूपमा बुझिदिन तथा उद्धार, राहत र शव व्यवस्थापन कार्यमा आवश्यक सहयोग, समन्वय र सूचना आदानप्रदान गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ।
साथै, यस प्रक्रियाका कारण पीडित परिवारमा पर्न सक्ने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमासमेत मागेको छ।
प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार













प्रतिक्रिया