काठमाडौं । बागमती प्रदेश सरकारले बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई उद्धार तथा राहतका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।

मुख्यमन्त्री थापामगरका अनुसार रसुवाका चार स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै नुवाकोटका लागि १ करोड, धादिङका लागि ५० लाख र चितवनका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको उनले बताए। उक्त रकम सम्बन्धित स्थानीय तहमार्फत मृतकका परिवारलाई प्रदान गरिनेछ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न र अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी राहतको कामसमेत सुरु गरिसकेको मुख्यमन्त्री थापामगरले जानकारी दिए।

‘जहाँ–जहाँ खाद्यान्नको समस्या छ र जहाँ–जहाँ अस्थायी शिविर सञ्चालन भइरहेका छन्, त्यहाँ खानेकुरा तथा अस्थायी बसोबासका लागि लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने गरी काम सुरु गरेका छौँ,’ उनले भने।

प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय र सहकार्य गरेर राहत तथा पुनःस्थापनाका काम अघि बढाइरहेको उनको भनाइ छ। प्रभावित क्षेत्रमा प्रदेश सरकारको प्रत्यक्ष उपस्थिति देखिने गरी तत्काल आवश्यक राहतका कामलाई प्राथमिकता दिइएको उनले बताए।

मुख्यमन्त्री थापामगरले संघीय सरकारले रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन गरे पनि प्रभावित क्षेत्रमा पुर्‍याउन नसकेको आरोप लगाए।

उनका अनुसार संघीय सरकारले संकलन गरेका राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक तथा रसुवाको धुन्चेस्थित ब्यारेकमा थन्क्याएर राखिएको थियो।

प्रदेश तथा स्थानीय सरकारसँग पर्याप्त समन्वय नहुँदा राहत सामग्री प्रभावित नागरिकसम्म पुर्‍याउन र उद्धार कार्य प्रभावकारी बनाउन समस्या भएको उनले बताए।

मुख्यमन्त्री थापामगरका अनुसार आइतबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि संघीय सरकारबाट संकलित राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने जिम्मेवारी बागमती प्रदेश सरकारलाई दिइएको छ।

अब प्रदेश सरकारले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी राहत सामग्री प्रभावित नागरिकसम्म पुर्‍याउने उनले बताए।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com