काठमाडौं। सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृहजिल्ला जाने तयारीमा थिए । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोष्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन् ।
बाढीमा परेर शव भेटिएको पाँच दिनपछि सोमबार चितवन र तनहुँको संगम देवघाटमा उनको अन्त्येष्टि गरिएको छ । शव बिग्रने अवस्था भएको र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए ।
काका रमेशकाअनुसार रसुवा पोष्टिङ भएपछि आयुषले अधिकृतमा नाम निकालेर सरकारी जागिर प्रवेश गर्ने सोच बनाएका थिए । तर, परिवारले नाम निस्किएकाले काम गर्दै पढ्न सुझाव दिएपछि उनी रसुवा पुगे । ‘पढ्नमा साह्रै रुचि राख्थ्यो । खरिदार हुँदिनँ । म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ रमेशले सुनाए, ‘रसुवाको पोष्टिङमा खासै रुचि देखाएको थिएन । तर, परिवारमा कुरा भएपछि जान बाध्य भयो ।’
बागचौर नगरपालिका– १० पिपलनेटाका आयुष, खड्का परिवारकै जेठो छोरा हुन् । उनी भदौ १२ मा काठमाडौँ आउने र त्यसपछि परीक्षा दिन भदौ १६ मा घर जाने योजनामा थिए । दुर्भाग्य, घर जाने तयारी गरिरहँदा भदौ १० को बिहान उनी बाढीमा परे ।
आयुषको परिवारमा बुवा, आमा र बहिनी छन् ।
आयुष बाढीमा परेको खबरपछि आमा मुना बेहोस भएकी थिइन् । आयुषको अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्छित भएका थिए । अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरुलाई सम्हालेका थिए ।


प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार













प्रतिक्रिया