काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये कबीर महर्जनको अवस्था जटिल रहेको छ भने सञ्जय साहको अवस्था सामान्य रहेको छ।
दोस्रो चरणमा उद्धार गरिएका कबीर महर्जनलाई उद्धारलगत्तै काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था जटिल रहेकाले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
यस्तै, सुरुङबाट पहिलो चरणमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य र स्थिर रहेको छ।
स्वास्थ्य अवस्था स्थिर रहे पनि थप स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइँदैछ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित विज्ञसहितको संयुक्त टोलीले आज बिहान त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेका दुवै जनाको उद्धार गरेको हो।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि आयोजनाको सुरुङभित्र कामदारहरू फसेको आशंका गरिएको थियो।
बाढी आएको समयदेखि नै सुरुङभित्र रहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र विज्ञ टोलीले निरन्तर प्रयास गर्दै आएका थिए।
लामो समय सुरुङभित्र फसेपछि जीवितै उद्धार भएका दुवै जनालाई तत्काल स्वास्थ्य उपचार र निगरानीमा राखिएको छ।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया