काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका तस्वीर तथा भिडियो सार्वजनिक गर्दा मानवीय संवेदनशीलता र गोपनीयतालाई प्राथमिकता दिन सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन्।
मन्त्री तिमिल्सिनाले नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका तथा आफन्त गुमाएका नागरिक आश्रय लिएर बसेको उल्लेख गर्दै उनीहरूको सहमतिबिना व्यक्तिगत विवरण, तस्वीर वा भिडियो सार्वजनिक नगर्न आग्रह गरेका हुन्।
विपद्को वास्तविक अवस्था जनसमक्ष पुर्याउनु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी भए पनि त्यस क्रममा पीडितको आत्मसम्मान, गोपनीयता र मानसिक अवस्थालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न र उद्धार तथा राहतका काममा अवरोध नपु¥याउन पनि आग्रह गरेका छन्। समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकता दिन उनको अनुरोध छ।
मन्त्रालयले अपुष्ट तथा कपोलकल्पित सूचना, एआईबाट तयार पारिएका भ्रामक सामग्री र शव वा अत्यन्त भयावह अवस्थाका दृश्य सामाजिक सञ्जालमा पोस्ट तथा पुनःप्रसारित नगर्नसमेत सचेत गराएको छ।
यसैबीच, बाढी प्रभावित बालबालिकाको असहाय अवस्था झल्कने तस्वीर तथा भिडियो सार्वजनिक भइरहेको विषयमा प्रेस काउन्सिल नेपालले पनि गम्भीर ध्यानाकर्षण जनाएको छ।
काउन्सिलले यस्ता सामग्रीको अनियन्त्रित सम्प्रेषण बालबालिकाको हित र गोपनीयतासम्बन्धी पत्रकारिताको मापदण्डविपरीत हुन सक्ने जनाएको छ। काउन्सिलका अनुसार यस्ता सामग्रीले ‘बालमैत्री सञ्चार निर्देशिका, २०७३’ को मर्मसमेत उल्लंघन गर्न सक्छन्।
आचारसंहिता विपरीतका सामग्रीमाथि निगरानी बढाइएको र आवश्यक प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।
विपद्को संवेदनशील अवस्थालाई समाचारको प्रभाव बढाउने माध्यम नबनाई तथ्यपरक, जिम्मेवार र मानवीय दृष्टिकोणबाट सूचना सम्प्रेषण गर्न सरकार तथा प्रेस काउन्सिलले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया