किभ। रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुश्नरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘गम्भीर र महत्त्वपूर्ण’ छलफल गरेका छन्।
मस्कोमा शनिबार भएको भेटमा युद्ध अन्त्यका लागि सम्भावित शान्ति योजनाबारे छलफल भएको ह्वाइट हाउसले जनाएको छ। अमेरिकी टोलीले शान्ति सम्झौताका लागि केही प्रस्तावसमेत प्रस्तुत गरेको बताइएको छ। यद्यपि, प्रस्तावको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
पुटिनका सल्लाहकार युरी उसाकोभले वार्ता खुला र स्पष्ट रहेको बताए। उनका अनुसार मस्कोले पूर्वी युक्रेनका बाँकी भूभाग नियन्त्रणमा लिने आफ्नो सैन्य लक्ष्य पूरा गर्ने प्रतिबद्धता अमेरिकी प्रतिनिधिहरूसमक्ष स्पष्ट पारेको छ।
वार्ताको वातावरण बनाउन रुस र युक्रेनले एक-अर्काको राजधानीमा तीन दिनसम्म आक्रमण नगर्ने सहमति गरेका छन्। पुटिनले किभमा आक्रमण रोक्न निर्देशन दिएका छन् भने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि मस्कोमाथि हमला नगर्ने प्रतिबद्धता जनाएका छन्।
मस्को भ्रमणपछि विटकफ र कुश्नर आइतबार युक्रेनको राजधानी किभतर्फ लागेका छन्। पोल्याण्ड हुँदै रेलमार्फत किभ पुगेपछि उनीहरूले जेलेन्स्कीसँग भेट गर्ने अपेक्षा गरिएको छ।
यो विटकफ र कुश्नरको युद्ध सुरु भएयता मस्कोको आठौँ भ्रमण हो भने किभको भने पहिलो भ्रमण हो।
पुटिनले गरे ट्रम्पको प्रशंसा
वार्ताअघि पुटिनले अमेरिकी प्रतिनिधिहरूको सुरक्षाको पूर्ण ग्यारेन्टी रुसले गर्ने बताएका थिए। युद्ध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको भन्दै उनले ट्रम्पको प्रशंसासमेत गरे।
ट्रम्पले पनि आफ्ना प्रतिनिधिहरू युद्ध अन्त्य गर्ने सम्भावित प्रस्तावसहित रुस पुगेको र आफूहरूसँग शान्तिको स्पष्ट अवधारणा रहेको बताएका थिए।
यद्यपि, सीमित युद्धविरामकै बीच शनिबार रुसी आक्रमणमा युक्रेनका विभिन्न क्षेत्रमा १० जनाको मृत्यु भएको किभले जनाएको छ। जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूको भ्रमण प्रभावित पार्न रुसले विमानस्थल तथा नागरिक क्षेत्रमा रातभर आक्रमणको प्रयास गरेको आरोप लगाएका छन्।
प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार












प्रतिक्रिया