काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवा जिल्लास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको समग्र पुनर्निर्माणका लागि दीर्घकालीन गुरुयोजना तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।

बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाइरहँदा घिसिङले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। उनले दिनरात नभनी खोज तथा उद्धारमा खटिएका नेपाली सेना, अन्य सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, प्रशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ तथा प्राविधिक टोलीलगायत सबैप्रति आभार व्यक्त गरेका छन्।

बाढीमा परेका अझै धेरै नागरिकको अवस्था अज्ञात रहेको उल्लेख गर्दै घिसिङले खोजी, उद्धार तथा राहत वितरण कार्यलाई थप तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

उनका अनुसार बाढीले त्रिशूली नदी बेसिनको भूगोल र प्राकृतिक स्वरूपमै ठूलो परिवर्तन ल्याएको छ। जलविद्युत आयोजना, सडक, पुल तथा प्रसारण संरचनालगायत महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको र सयौँ परिवार घरबारविहीन भएको उनले बताएका छन्।

घिसिङले यो क्षति तत्कालीन राहत र पुनर्निर्माणबाट मात्र सम्बोधन गर्न सम्भव नहुने भन्दै संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। उनले त्रिशूली नदी बेसिनको समग्र पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि गुरुयोजना तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

उनले सुरक्षित एकीकृत बस्ती निर्माण, सडक तथा पुल पुनर्निर्माण, ऊर्जा पूर्वाधारको पुनर्स्थापना, नदी नियन्त्रण र तटीय संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

‘विपद्ले भत्काएको त्रिशूलीलाई अझ सुरक्षित, व्यवस्थित र दिगो त्रिशूलीका रूपमा पुनर्निर्माण गर्ने संकल्प अब आवश्यक छ’ भन्दै घिसिङले पुनर्निर्माण र पुनर्स्थापनाको अभियानमा आफ्नो विज्ञता, अनुभव र क्षमताले भ्याएसम्म साथ, सहयोग र योगदान गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com