काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले जेनजी सहिद दिवसका अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।

जेनजी सहिद दिवसको शुभकामना दिँदै उपसभामुख ठाकुरले जेनजीको सपना साकार होस् भनेर कामना गरेकी हुन्। उनले सुशासन, न्याय, समानता, स्वतन्त्रता, रोजगारी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवाले गरेको बलिदानलाई व्यावहारिक परिवर्तनमार्फत सम्मान गर्नुपर्ने बताएकी छन्।

उपसभामुख ठाकुरले जेनजी पुस्ताले उठाएको आवाज एउटा पुस्ताको मात्र नभइ बेथिति, अन्याय, भ्रष्टाचार र निराशाविरुद्धको परिवर्तनको आवाज भएको उल्लेख गरेकी छन्। सहिदहरूको साहस, त्याग र बलिदान नेपाली इतिहासमा सदैव सम्मानका साथ स्मरणीय रहने उनले बताइन्।

‘जेनजी सहिद दिवसको हार्दिक श्रद्धाञ्जली तथा शुभकामना,’ सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘देशमा सुशासन, न्याय, समानता, स्वतन्त्रता, राेजगार, भ्रष्टाचारमुक्त शासन व्यवस्था र उज्ज्वल भविष्यको सपना बोकेर आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण जेनजी सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँहरूको साहस, त्याग र बलिदान नेपाली इतिहासमा सदैव सम्मानका साथ स्मरणीय रहनेछ।’

उनले हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।

प्रभावित परिवार र विस्थापित नागरिकको पीडामा राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली एकजुट भएर साथ दिनुपर्नेमा उनले जोड दिएकी छन्।

‘भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले हामी सबैलाई गहिरो पीडा दिएको छ। बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। प्रभावित परिवारहरूको पीडा र विस्थापित नागरिकको दुःखमा राज्य, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भएर साथ दिन आवश्यक छ,’ उनले भनिन्।

उपसभामुख ठाकुरले सहिदहरूको सपना, युवाहरूको आकांक्षा र नेपाली जनताको आशालाई केन्द्रमा राख्दै न्यायपूर्ण, समतामूलक, सुशासित तथा समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न आह्वानसमेत गरेकी छन्।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com