काठमाडौं। इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि हवाई यातायात प्रभावित हुँदा करिब ३ हजार उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन अवरुद्ध हुँदा ३ लाख ४० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन्।

राजधानी जाकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनाक क्राकाटाउ ज्वालामुखीमा शुक्रबार राति शक्तिशाली विस्फोट भएको थियो। विस्फोटपछि लाभा तथा ज्वालामुखीय खरानी निस्किएर जाकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेको छ।

ज्वालामुखीय खरानी आकाशमा कायमै रहेपछि जाकार्ताको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन गर्ने पूर्वनिर्धारित समय स्थगित गरिएको छ। विमानस्थल प्रशासनका अनुसार सोमबार राति करिब १२ बजेदेखि मात्र उडान सञ्चालन गर्ने तयारी गरिएको छ।

नागरिक तथा सैन्य उडानका लागि प्रयोग हुने हलिम पेरदानाकुसुमा विमानस्थल पनि त्यतिन्जेल बन्द रहने जनाइएको छ।

उडान अवरुद्ध भएपछि सोएकार्नो–हट्टा विमानस्थलमा टिकटको रकम फिर्ता लिन तथा उडान पुनः कहिले सुरु हुन्छ भन्ने जानकारी लिन यात्रुको लामो लाइन लागेको छ।

पूर्वी जाभाको मलाङबाट जाकार्ता फर्किन लागेकी फिन्ना नामकी यात्रुले विमानस्थलमा अव्यवस्था देखिएको र उडानको समय पटक–पटक परिवर्तन भइरहेको बताएकी छन्।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com