काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत वर्षको युवा (जेन्जी) आन्दोलनले उठाएका सवाललाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता र मौलिक अधिकारमाथिको नियन्त्रणविरुद्ध युवापुस्ताले गरेको शान्तिपूर्ण विद्रोहलाई नयाँ जागरणको रूपमा चित्रण गरेका छन्।

उनले आन्दोलनका क्रममा ज्यान गुमाउने सहिद तथा कर्तव्य पालनका क्रममा मृत्यु भएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको पूर्ण उपचार र पुनःस्थापनाको दायित्व राज्यले पूरा गर्नुपर्ने बताए।

लामिछानेका अनुसार आन्दोलन कुनै दल वा नेताको आह्वानमा नभई स्वस्फूर्त नागरिक जागरणका रूपमा भएको थियो। त्यसैले यसको राजनीतिक लाभका लागि कुनै दल वा नेताले आन्दोलनको मर्मलाई सङ्कुचित रूपमा प्रयोग गर्न नहुने उनको भनाइ छ।

युवा पुस्ताको सडक उपस्थिति परम्परागत राजनीतिक शैलीप्रतिको अस्वीकृति भएको उल्लेख गर्दै उनले नागरिकको खबरदारी र राजनीतिक नेतृत्वको निर्मम समीक्षा निरन्तर आवश्यक रहेको बताए।

निराशाको भाष्य स्थापित हुन नदिन एकताबद्ध हुन अपिल गर्दै लामिछानेले आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com