काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय विपद्को घडीमा सरकार र प्रतिपक्षको दृष्टिकोणबाट नभई राष्ट्रिय एकता र मानवीय संवेदनाको भावनाबाट अघि बढ्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत कार्यको प्रशंसा गर्दै विपद्लाई राजनीतिक प्रतिस्पर्धाको विषय बनाउन नहुने धारणा राखे।

‘विपत्तिलाई सरकार र प्रतिपक्षको आँखाले हेर्नुहुँदैन,’ उनले भने, ‘अहिले राज्य भग्नावशेष र नदीमा हराइरहेका मानव जीवनको खोजीमा जुटिरहेको छ। यस्तो संवेदनशील अवस्थामा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता वास्तवमै प्रशंसनीय छ।’

प्रतिकूल मौसम, अवरुद्ध सडक र कठिन भौगोलिक अवस्थाका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर प्रभावित क्षेत्रमा पुगेर गरेको काम प्रशंसनीय रहेको उनले बताए।

हवाई उद्धार अभियानको विशेष प्रशंसा गर्दै लामिछानेले यस स्तरको ठूलो र व्यवस्थित उद्धार प्रयास यसअघि विरलै देख्न पाइने उल्लेख गरे।

‘विपद्ग्रस्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै राज्यले राहत र पुनर्स्थापनाका कामलाई तीव्रता दिएको छ,’ उनले भने।

लामिछानेले विपद्को समयमा समेत राजनीतिक आरोप–प्रत्यारोप र एकअर्कालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘म देखिरहेको छु, अझै पनि कसलाई कसरी तल खसाल्ने भन्ने खेलमा केही मानिस राजनीतिक रोटी सेक्न लागिपरेका छन्,’ उनले भने, ‘अहिले राजनीति गर्ने समय होइन, नागरिकको जीवन बचाउने समय हो।’

भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न बलिया पूर्वाधार, प्रभावकारी पूर्वतयारी र दीर्घकालीन संरचना निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

रास्वपा सभापति लामिछानेले विपत्तिको यो कठिन घडीमा राज्यका सबै संयन्त्र, राजनीतिक दल र नागरिक समाज एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।

उनले सरकारका सकारात्मक कामको खुलेर प्रशंसा गर्नुपर्ने र कमजोरी भए सुधारका लागि सुझाव दिनुपर्ने उल्लेख गर्दै राष्ट्रिय संकटमा सबैको प्राथमिकता नागरिकको सुरक्षा र जीवन रक्षा हुनुपर्ने बताए।

प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com