काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण र सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले महानगर प्रहरीको जिम्मेवारी चुनौतीपूर्ण भए पनि उसले निरन्तर प्रभावकारी काम गर्दै आएको बताए।
काठमाडौंमा राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिका साथै कूटनीतिक नियोग र ऐतिहासिक सम्पदा केन्द्रित रहेकाले महानगर प्रहरीको भूमिका विशिष्ट रहेको उनको भनाइ थियो।
उनले बजार तथा पार्किङ व्यवस्थापन, फुटपाथ नियन्त्रण, सरसफाइ, सम्पदा संरक्षण र सामाजिक विकृति नियन्त्रणमा महानगर प्रहरीले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।
“सडक तथा फुटपाथ अतिक्रमण हटाउने काम सहज र लोकप्रिय हुँदैन, तर व्यवस्थित र सुन्दर सहर निर्माणका लागि यस्ता कार्य अपरिहार्य छन्,” कार्कीले भने।
विपद्का समयमा नेपाल प्रहरीसँग सहकार्य गर्दै खोज, उद्धार तथा राहतमा महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको पनि उनले प्रशंसा गरे। तीन दशकभन्दा लामो यात्रा पूरा गरेको महानगर प्रहरी स्थानीय तहअन्तर्गत उदाहरणीय संगठनका रूपमा स्थापित भएको उनको भनाइ थियो।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया