काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रेजोन’ले नेपालका राजनीतिक नेतृत्वबारे प्रकाशित गरेको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूले उक्त रिपोर्ट नपढेको र त्यसबारे जानकारीसमेत नरहेको बताए।

सामाजिक सञ्जालमा द ग्रेजोनको रिपोर्टबारे चर्चा भइरहेको भन्दै सञ्चारकर्मीले धारणा मागेपछि लामिछानेले उल्टै उक्त सञ्चारमाध्यमबारे प्रश्न गरेका थिए।

‘के रहेछ ग्रेजोन ? मलाई सुनाइदिनुपर्‍यो। यो कुन पत्रिका हो र अमेरिकाको कुन ठाउँबाट निस्किन्छ ?’ उनले भने।

सञ्चारकर्मीले सामाजिक सञ्जालमा रिपोर्टबारे व्यापक चर्चा भइरहेको बताएपछि लामिछानेले भने, ‘मैले त पढेको छैन। जुन चिजको क्रेडिबिलिटी छैन, त्यो म पढ्दिनँ।’

उनले विश्वसनीय आधार नभएका विषयमा सञ्चारमाध्यम र आफ्नो समय खर्च गर्न आवश्यक नरहेको बताए।

‘अण्टसण्ट कुरा नलेखिए त पढ्छु, तर विश्वसनीयता नै नभएको कुनै चिज आयो भन्दैमा यत्रो देशको क्यामेरा, माइक र पत्रकारहरूको समय त्यस्ता समाचारमा खेर फाल्ने ?’ उनले प्रश्न गरे।

द ग्रेजोनले सेप्टेम्बर ९ मा प्रकाशित गरेको रिपोर्टमा अमेरिकी सहयोगमा सञ्चालित ‘निति संवाद’ कार्यक्रम तथा त्यससँग सम्बन्धित संस्था ‘कन्सोर्टियम फर इलेक्सन्स एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ’ (CEPPS) का कागजातलाई आधार बनाइएको उल्लेख छ। रिपोर्टले नेपालका केही वर्तमान राजनीतिक नेताहरूको राजनीतिक उदय र अमेरिकी सहयोगमा सञ्चालित नेतृत्व विकास कार्यक्रमबीच सम्बन्ध रहेको दाबी गरेको छ।

उक्त रिपोर्टमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति लामिछाने, सांसद सागर ढकाल र गृहमन्त्री सुदन गुरुङलाई ‘निति संवाद’ कार्यक्रमअन्तर्गत सहयोग पाउने राजनीतिक तथा नागरिक नेतृत्वका रूपमा उल्लेख गरिएको दाबी गरिएको छ।

लामिछानेले भने रिपोर्टको सामग्रीमाथि प्रतिक्रिया दिनुअघि त्यसको स्रोत र विश्वसनीयतामाथि प्रश्न उठाउँदै आफूले रिपोर्ट नै नपढेको बताएका हुन्।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com