काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले घरेलु मैदानमा बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार नेपाल र बङ्लादेशबीचको तीन खेलको द्विपक्षीय टी–२० शृङ्खला आगामी चैत १२, १४ र १६ गते सञ्चालन हुनेछ । शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन् ।

क्यानका सचिव पारस खड्काले भोटेकोशी बाढी तथा त्यसबाट ज्यान गुमाएकाहरूको स्मृतिमा नेपाल र बङ्लादेशबीचको शृङ्खला समर्पित गरिने जानकारी दिएका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत आगामी मार्चमा नेपालमा हुने शृङ्खला हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने बताएका हुन् ।

खड्काले क्रिकेटभन्दा बाहिर पनि यस शृङ्खलाले नेपाल र बङ्लादेशबीच ऐक्यबद्धता, करुणा र मित्रताको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार नेपाल र बङ्लादेशबीच जनस्तरमा बलियो सम्बन्ध रहनुका साथै दुवै देशका नागरिकमा क्रिकेटप्रति समान प्रेमसमेत रहेको छ ।

नेपालसँग टी–२० शृङ्खला खेल्न तयार भएकोमा खड्काले बङ्लादेश क्रिकेट बोर्डप्रति आभार व्यक्त गरेका छन् । नेपाल र बङ्लादेशबीच यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा हुँदै आए पनि घरेलु मैदानमा तीन खेलको द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला भने पहिलोपटक हुन लागेको हो । आगामी शृङ्खलाले नेपाली क्रिकेट टोलीलाई घरेलु दर्शकमाझ बङ्लादेशसँग प्रतिस्पर्धा गर्ने अवसरसमेत प्रदान गर्नेछ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com