काठमाडाैं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय समकक्षीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे । तर दुवै वार्तामा नेपाली झण्डा नदेखिएपछि गम्भीर प्रश्न खडा भएकाे छ ।

दुई देशका उच्चस्तरीय प्रतिनिधिबीच हुने कुनै पनि वार्तामा दुवै देशकाे झण्डा राख्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाे छ । कुटनीतिक भेटघाटमा याे आधारभूत प्राेटाेकल पनि हाे ।

तर अर्थमन्त्रीले भारतीय समकक्षी निर्मला सीतारमणसँग उनकै कार्यकक्षमा वार्तामा बस्दा एकातर्फ मात्रै झण्डा थियाे । भारतीय अर्थमन्त्री सीतारमणकाे छेउमा भारतीय झण्डा थियाे भने अर्थमन्त्री डा. वाग्ले झन्डाविहिन थिए ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा त झन् दुवैतर्फ भारतीय झण्डा राखिएकाे लाजमर्दाे दृष्य देखिएकाे छ । वैठकस्थलमा रहेकाे डिजिटल बाेर्डमा भने दुवै देशका झण्डा देखाइएका थिए ।

कुटनीतिका जानकारहरूका अनुसार विदेश भ्रमणमा जाँदा आफ्नाे देशकाे झण्डा अनिवार्य लैजाने प्रचलन हुन्छ । यसकाे व्यवस्थापन परराष्ट्र मन्त्रालयले गर्नुपर्ने हाे ।

झण्डा लैजान छुटेकाे अवस्थामा पनि दिल्लीस्थित नेपाली दुतावासले तत्काल व्यवस्थापन गर्नुपर्थ्याे । तर, यसमा ठूलाे हेलचेक्राइँ भएकाे छ । यदि जानाजान नै झण्डा नराखिएकाे भए त त्याे झनै आपत्तिजनक हाे ।

दुवैतर्फ भारतीय झण्डा राखिएकाे तस्विर अर्थमन्त्रीकाे सचिवालयले नै फेसबुकमा पाेस्ट गरेकाे छ । यस विषयमा हामीले प्रतिनिधिमण्डलमै रहेेका अर्थमन्त्रीका प्रेस संयाेेजक नवीन ढुंगानाासँग जिज्ञासा राख्याैं ।

उनले डिजिटल बाेर्डमा दुवै देशकाे झण्डा रहेकाे र अर्थमन्त्रीकाे ठिक अगाडि टेबलमा पनि सानाे आकारकाे झण्डा राखिएका बताए । नेपाली प्रतिनिधमण्डल बसेकाे साइडमा पनि भारतीय झण्डा राखिएकाे विषयमा भने उनले ठाेस जवाफ दिएनन् ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com