काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका तर पहिचान खुल्न नसकेका शव असोजको अन्तिम सातादेखि आफन्तलाई बुझाउन सुरु गरिने भएको छ ।
भदौ १० गते ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीपछि भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारबाट सुरक्षाकर्मीले ठूलो संख्यामा शव सङ्कलन गरेका थिए । हालसम्म १ हजार ४१० जनाको मृत्यु पुष्टि भएकामा १ हजार १४८ शवको पहिचान हुन सकेको छैन ।
पहिचानका लागि डीएनए परीक्षणलाई मुख्य आधार बनाइएको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशाला र प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा मृतकका हड्डी तथा दाँत र आफन्तका रगतका नमुना परीक्षण भइरहेका छन् । परीक्षण प्रक्रियामा भारत, चीन र दक्षिण कोरियाका विज्ञसमेत संलग्न छन् ।
प्रहरीका अनुसार मृतकका आफन्तबाट करिब २ हजार रगतका नमुना सङ्कलन गरिएको छ भने मृतकका हड्डी तथा दाँतका १ हजार ३३७ नमुना सङ्कलन गरिएको छ । विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणबाट हालसम्म १ हजार ४०० भन्दा बढी डीएनए प्रोफाइलको नतिजा आइसकेको जनाइएको छ ।
डीएनएसँगै औँठाछापबाट समेत पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ । शवबाट सङ्कलन गरिएका औँठाछाप राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र अध्यागमन विभागको अभिलेखसँग भिडाउन पत्राचार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार असोजको अन्तिम साताबाट पहिचान भएका शव हस्तान्तरण सुरु गर्ने तयारी छ । पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव आफन्तलाई बुझाउने गरी काम भइरहेको छ ।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले डीएनए प्रोफाइलिङ तीव्र रूपमा भइरहेको र प्रोफाइल म्याचिङपछि शव हस्तान्तरण गरिने बताएका छन् । औँठाछापको नतिजासमेत प्राप्त भएपछि पहिचान प्रक्रिया थप सहज हुने प्रहरीको अपेक्षा छ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया