काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानलाई समयअनुकूल परिष्कृत र संशोधन गर्दै यसको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले कुनै पनि देशको संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको ‘पवित्र करार’ भएको बताए।

नेपालको सन्दर्भमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको भनाइ छ। लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता त्यसले परिकल्पना गरेका मौलिक हक सीमान्तकृत नागरिकको दैनिक यथार्थ बनेपछि मात्र सिद्ध हुने उनले बताए।

लामिछानेले रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट गरेको उल्लेख गरेका छन्।

उनले संविधान जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसको अन्तर्वस्तु परिष्कृत तथा संशोधन हुन सक्ने बताए। संविधानमै रहेको व्यवस्थाले संविधानको समीक्षा मागेको भन्दै अबको समीक्षा पिँधमा रहेका मानिसलाई केन्द्रमा राखेर हुनुपर्ने उनको धारणा छ।

बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन संविधान दिवस भएको लामिछानेले बताएका छन्।

उनले बलियो राज्यका लागि बलिया संस्था आवश्यक रहेको उल्लेख गर्दै संविधान दिवसले राजनीतिक शक्ति, राज्यका अंग र आम नागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

लामिछानेले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकमा शुभकामना दिँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com