काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणी न्यौपानेले सरकारमा रहे पनि प्रश्न गर्ने अधिकारबाट आफूहरू पछि नहट्ने बताएका छन्।

संविधान संशोधनको अबको बाटोबारे आयोजित अन्तरक्रियामा बोल्दै उनले प्रश्न गर्ने अधिकार लोकतन्त्रको आधार भएको भन्दै त्यसलाई कुण्ठित गरिए निरंकुशता जन्मिने चेतावनी दिए।

‘प्रश्न गर्ने अधिकार संविधानले दिएको हो। प्रश्न गर्ने अधिकार लोकतन्त्र हो। प्रश्न गर्ने अधिकारलाई कसैले कुण्ठित गर्‍यो भने निरंकुशता जन्मिन्छ,’ उनले भने।

न्यौपानेले लोकतन्त्र, विधिको शासन, मानवअधिकार र प्रतिनिधि सभाको भूमिकालाई प्रभावकारी बनाउन सरकारमा रहेर पनि प्रश्न उठाइरहेको स्पष्ट पारे। आफूहरू प्रश्नबाट नभाग्ने र प्रश्न गर्न नछोड्ने उनको भनाइ थियो।

‘आफ्नै सरकार छ, आफैँ प्रश्न किन भनेर आश्चर्य लाग्न सक्छ। हामीले नजानेर वा नबुझेर प्रश्न गरेको होइन। प्रश्नबाट कहिल्यै भाग्दैनौँ र प्रश्न गर्न छोड्दैनौँ,’ उनले भने, ‘हामीलाई प्रतिपक्ष नभन्नुहोस्, हामी रचनात्मक सत्ता पक्ष हौँ।’

उनले संविधान संशोधनका विषयमा आफूहरूलाई प्रश्न उठाउने र सरकारको काममा रचनात्मक भूमिका निर्वाह गर्ने अधिकार रहेको बताए। साथै, संविधान संशोधनका लागि रास्वपा नेतृत्वको सरकारले कार्यदल गठन गर्दा पुराना राजनीतिक दलहरूले त्यसलाई नरुचाएको दाबीसमेत गरे।

न्यौपानेले पुराना दलहरूले आफूलाई संविधान पक्षधरका रूपमा प्रस्तुत गर्दै आए पनि संविधान संशोधनको प्रक्रियामा उनीहरूको भूमिकाबारे प्रश्न उठ्न सक्ने बताएका छन्।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com