काठमाडौं । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ ।
कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७ सय ९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ ।
उनका अनुसार झापामा मात्रै हालसम्म २ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २ सय ३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
निर्देशनालयका अनुसार ओखलढुंगामा १ सय २२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको छ । संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा ४, मोरङमा २०, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ वटा सम्भावित र दुई वटा शंकास्पद विरामी अस्पतालमा रहेको उनले जानकारी दिए । संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने लगायतका अभियान सञ्चालन आवश्यक रहेको उनले बताइन् ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार












प्रतिक्रिया