सिरहा । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा संस्थाविरुद्ध आपत्तिजनक, भ्रामक र धम्कीपूर्ण सामग्री प्रसारण गरेको आरोपमा सिरहाका मनोजकुमार महतो ‘मनोज मानव’ पक्राउ परेका छन्।
लहान नगरपालिका–२४ का महतोलाई जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा उदयपुरस्थित चतरा पुलपारिको एक होटलबाट असोज ४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महतोले व्यवसायी, जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गरी अश्लील, अशिष्ट, धम्कीपूर्ण तथा आधारहीन सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप छ। यस्ता गतिविधिले सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पुर्याएको प्रहरीको दाबी छ।
साइबर अपराध तथा सार्वजनिक शान्तिविरुद्धको कसुरमा जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी जारी भएपछि महतो फरार रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार












प्रतिक्रिया