रसुवा । भोटेकोशी बाढीका कारण रसुवाका निजी विद्यालयमा अध्ययनरत ३८ विद्यार्थी र २०१ जना अभिभावक बेपत्ता भएका छन् । बाढीपछि अभिभावक गुमाएका बालबालिकाको पठनपाठन र संरक्षणसमेत प्रभावित भएको छ ।
प्याब्सन रसुवाका अध्यक्ष पासाङ लामाका अनुसार गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९, मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका १० र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका ९ विद्यार्थी बेपत्ता छन् ।
प्याब्सनको तथ्याङ्कअनुसार गोसाइँकुण्ड बोर्डिङका ४६, हाइल्याण्डका ४२, नमूना एभरग्रिनका ४१, मोडर्न ट्रिनिटीका ३३, ग्रीनगार्डनका २५, नर्थपोलका ९ र हिमालयनका ५ विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन् ।
अभिभावकविहीन बालबालिकाको आश्रय, खानपान र शिक्षामा समस्या देखिएको छ । बाढीले विद्यालय तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको छ । मोडर्न ट्रिनिटीका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका पनि बाढीपछि बेपत्ता रहेको जनाइएको छ ।
प्याब्सनका अनुसार जिल्लाका सात संस्थागत विद्यालयमध्ये पाँच वटा सञ्चालनमा आइसकेका छन् भने बढी क्षति भएका दुई विद्यालय पनि सञ्चालनको तयारीमा छन् । प्रभावित तथा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन केन्द्रीय प्याब्सनसँगको समन्वयमा पहल भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया