काठमाडौं । स्याङ्जा, कैलाली र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन्।
स्याङ्जाको भीरकोट नगरपालिका–१ करूङस्थित सडकमा बजादीबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तम सिंह गुरुङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते जिप चालकको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। जिपमा सवार अन्य चार जना घाइतेको गण्डकी मेडिकल कलेज, कास्कीमा उपचार भइरहेको छ।
यसैगरी, कैलालीको टीकापुर नगरपालिका–१ स्थित सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
से ४ प ५४५९ नम्बरको मोटरसाइकल र सु.प.प्र०१–००९ प २१३७ नम्बरको मोटरसाइकल बिहीबार बेलुकी ठोक्किँदा से ४ प ५४५९ नम्बरको मोटरसाइकल चालक टीकापुर–१ का ५५ वर्षीय सुरेन्द्र शाह गम्भीर घाइते भएका थिए।
शाहको नेपालगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते अर्को मोटरसाइकल चालकको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित सडकमा भने मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
चपुरबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीय सिताराम चौधरी गम्भीर घाइते भएका थिए। उनको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
तीनवटै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया