काठमाडौं । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले भोटेकोशी बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा पीडित परिवारको राहतका लागि ४३ लाख ४४ हजार ४४५ रुपैयाँ सहयोग गरेको छ।
वि.सं. २०८३ भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएपछि महासंघले प्रदेश महासंघ, जिल्ला संघ तथा उद्योगी–व्यवसायीहरूको तर्फबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो।
महासंघले माननीय अर्थमन्त्रीको रोहबरमा सम्बन्धित सचिवलाई ४३ लाख ४४ हजार ४४५ रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ।
महासंघका अनुसार संकलित सहयोग रकममध्ये केही रकम बाढीबाट प्रभावित उद्योगी–व्यवसायी तथा पीडित परिवारलाई प्रत्यक्ष राहतस्वरूप उपलब्ध गराउने निर्णय गरिएको छ। त्यसका लागि राहत रकम वितरण कार्यक्रम असोज १७ गते नुवाकोटको सदरमुकाममा आयोजना गर्ने तयारी गरिएको छ।
बाढीका कारण प्रभावित उद्योगी–व्यवसायी तथा सर्वसाधारणले भोग्नुपरेको क्षतिलाई ध्यानमा राख्दै महासंघले राहत रकम वितरण गर्न लागेको हो। महासंघले निजी क्षेत्रका उद्योगी–व्यवसायीहरू विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायको साथमा रहेको जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट सडक, पुल, उद्योग, व्यवसाय तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको थियो। बाढी प्रभावितको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले पनि आफ्नो क्षेत्रका प्रदेश महासंघ, जिल्ला संघ र उद्योगी–व्यवसायीहरूलाई समेटेर संकलन गरेको रकममार्फत प्रभावित क्षेत्रका नागरिक तथा उद्योगी–व्यवसायीलाई सहयोग गर्ने पहल अघि बढाएको हो।
प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया