काठमाडौं । विशेष अदालतबाट आरोपित कसुरबाट सफाइ पाउने ठहर भएका भीमकान्त लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरी अन्तर्वार्तामार्फत गरेको छनोट प्रक्रियाबाट लामिछानेलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो। नियुक्तिपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले लामिछानेलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराएकी छन्। लामिछानेको नियुक्तिसँगै लामो समयदेखि नेतृत्वको प्रतीक्षामा रहेको खजुरास्थित क्यान्सर अस्पतालले नयाँ नेतृत्व पाएको छ।

अस्पतालको संस्थागत विकास, व्यवस्थापन सुधार र नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने महत्वपूर्ण जिम्मेवारी अब लामिछानेको काँधमा आएको छ। विशेष अदालतको पत्रले स्पष्ट पार्यो—लामिछानेले पाए सफाइ लामिछानेको नियुक्तिको चर्चा भइरहँदा उनीविरुद्ध यसअघि चलेको मुद्दाको कानुनी अवस्थासमेत महत्वपूर्ण देखिएको छ। सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा नं. ०७९-CR-००२५ मा विशेष अदालत, काठमाडौंले २०८० फागुन २४ गते आरोपित कसुरबाट सफाइ पाउने ठहरी फैसला गरेको अदालतको आधिकारिक पत्रबाट स्पष्ट हुन्छ।

विशेष अदालत, काठमाडौं इजलास नं. ९ बाट जारी च.नं. ९६०, मिति २०८१ असार ३० गतेको पत्रमा उक्त मुद्दामा लामिछानेले आरोपित कसुरबाट सफाइ पाउने ठहरी फैसला भएको राय किताबबाट देखिएको उल्लेख गरिएको छ। अर्थात् लामिछानेमाथि लगाइएको उक्त आरोपमा अदालतबाट सफाइ पाउने फैसला भइसकेको आधिकारिक अभिलेखले देखाउँछ। यही कानुनी अवस्थाबीच मन्त्रालयले अपनाएको छनोट प्रक्रियाबाट उनी अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।

अब अस्पतालको नेतृत्वमा नयाँ जिम्मेवारी खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका नागरिकका लागि महत्वपूर्ण स्वास्थ्य संस्था हो।क्यान्सरजस्तो जटिल रोगको उपचारका लागि ठूलो जनसंख्या यस अस्पतालमा निर्भर रहँदै आएको छ। अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालेसँगै लामिछानेसामु अस्पतालको प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, सेवा प्रवाहलाई थप व्यवस्थित गर्ने, पूर्वाधार तथा संस्थागत विकासलाई गति दिने र बिरामीलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा विस्तार गर्ने जिम्मेवारी आएको छ।

स्थानीय तहदेखि सार्वजनिक संस्थाको नेतृत्वसम्मको अनुभवलाई अस्पताल व्यवस्थापनमा उपयोग गर्दै अघि बढ्न सके खजुराको क्यान्सर अस्पताललाई अझ व्यवस्थित र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने अवसर लामिछानेसँग रहेको देखिन्छ। अस्पताल विकास समितिको नयाँ नेतृत्वले अस्पतालको सेवा विस्तार र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। यससँगै भेरी अस्पतालको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त भएका छन् भने क्यान्सर अस्पतालको सदस्यमा डा. मधु भुसाल र डा. सञ्जय पाण्डे नियुक्त भएका छन्।

विशेष अदालतको सफाइपछि सार्वजनिक स्वास्थ्य संस्थाको महत्वपूर्ण जिम्मेवारीमा पुगेका लामिछानेका लागि अब आफ्नो कार्यक्षमता देखाउने नयाँ अवसर सुरु भएको छ। खजुराको क्यान्सर अस्पताललाई थप व्यवस्थित, सेवामुखी र प्रभावकारी बनाउने जिम्मेवारीसहित उनले अध्यक्षको कार्यभार सम्हालेका छन्।

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com