काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले वैदेशिक रोजगारीमा श्रम र जनशक्ति पठाउनेभन्दा सूचना प्रविधिमार्फत विश्व बजारमा सेवा बेच्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार आयोजित पाँचौँ नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका हुन्।

नेपालमै बसेर विश्व बजारमा सेवा दिन सकिने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले युवालाई स्वदेशमै उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए। अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाएर युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

सूचना प्रविधिको सम्भावना उपयोग गर्न डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने र सेवाको गुणस्तर सुधार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको उनले बताए। साथै, सरकारले यसै वर्ष फाइभ–जी सेवा सुरु गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिए।

प्रविधिले मानिसको महत्त्व घटाउने नभई क्षमता अभिवृद्धि गर्ने माध्यमका रूपमा काम गर्ने उनको भनाइ थियो। बदलिँदो श्रम बजारअनुसार युवालाई आवश्यक सीप र क्षमतामा आधारित शिक्षा दिनुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले नेपालमा कृत्रिम बौद्धिकता (एआई) को अवस्था अझै कमजोर रहेको बताए। एआईको प्रभावकारी उपयोगबाट सरकारी सेवा प्रवाह सुधार, नयाँ रोजगारी सिर्जना तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने उनको भनाइ थियो।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com