काठमाडौं । अमेरिकी सरकारले ग्रीन कार्डका लागि विदेशी कर्मचारीलाई प्रायोजन गर्ने प्रक्रियामा संलग्न ठूला प्रविधि कम्पनीहरूमाथि कडाइ गरेको छ। अमेरिकी श्रम विभागले माइक्रोसफ्ट, एडोब र इन्फोसिससहितका कम्पनीलाई स्थायी श्रम प्रमाणीकरण कार्यक्रमबाट निलम्बित गरेको विवरण सार्वजनिक भएको छ।

निलम्बनमा पर्ने कम्पनीमा कग्निजेन्ट, टाटा, विप्रो, एचसीएल र क्यापजेमिनीसहितका बहुराष्ट्रिय कम्पनी पनि रहेको समाचारमा उल्लेख छ। अमेरिकी अधिकारीहरूले यी कम्पनीमाथि विदेशी कामदारलाई ग्रीन कार्डका लागि प्रायोजन गर्ने प्रक्रियाको दुरुपयोग गरेको आरोप लगाएका छन्।

स्थायी श्रम प्रमाणीकरण कार्यक्रमअन्तर्गत कम्पनीले विदेशी कर्मचारीका लागि ग्रीन कार्डको प्रक्रिया अघि बढाउनुअघि सम्बन्धित पदमा योग्य अमेरिकी कामदार उपलब्ध नभएको प्रमाणित गर्नुपर्छ।

अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले माइक्रोसफ्टमाथि गम्भीर अनियमितताको आरोप लगाएका छन्। उनका अनुसार कम्पनीले सन् २०२५ मा करिब ६ हजार अमेरिकी कर्मचारी हटाएको थियो। त्यही अवधिमा योग्य अमेरिकी कामदार नपाएको भन्दै ६ हजारभन्दा बढी एच–१बी भिसा स्वीकृत गराएको र ३ हजार ६८२ ग्रीन कार्डका लागि आवेदन दिएको उनको भनाइ छ।

यसैबीच, अमेरिकी श्रम विभागले हार्वर्ड, येल र स्ट्यानफोर्डसहित नौ विश्वविद्यालयमाथि पनि अनुसन्धान अघि बढाएको छ। अमेरिकी कर्मचारीको तलब घटाउने उद्देश्यले अन्तर्राष्ट्रिय विद्यार्थीलाई कम ज्यालामा काममा लगाएको आरोपमा ती विश्वविद्यालयमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

यस कदमबाट सम्बन्धित कम्पनीमार्फत ग्रीन कार्ड प्रक्रियामा रहेका हजारौँ विदेशी कर्मचारी प्रभावित हुन सक्नेछन्। विशेषगरी भारतीय तथा अन्य दक्षिण एसियाली प्रविधि विशेषज्ञको प्रक्रियामा ढिलाइ र अनिश्चितता बढ्न सक्नेछ। यद्यपि, कम्पनी निलम्बनमा पर्दैमा पहिले नै स्वीकृत भएका ग्रीन कार्ड स्वतः रद्द नहुने समाचारमा उल्लेख छ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com