कञ्चनपुर। कञ्चनपुरमा असोज महिनामा १७ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा जिल्लाभर विभिन्न प्रकृतिका १०० वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार आत्महत्याका १७, लागुऔषधका २१, ज्यानसम्बन्धी १०, सामाजिक अपराधका १३, चोरीका ६, महिला तथा बालबालिकासम्बन्धी ६ र सवारी ज्यानसम्बन्धी दुई मुद्दा दर्ता भएका छन्। अन्य प्रकृतिका १९ मुद्दा पनि दर्ता भएका छन्।
आत्महत्या गर्नेमा आठ पुरुष, छ महिला र तीन बालिका छन्। प्रहरीका अनुसार उनीहरूमध्ये १५ जनाको मृत्यु झुन्डिएको अवस्थामा र दुई जनाको विष सेवनका कारण भएको हो।
उमेर समूहअनुसार आत्महत्या गर्नेमा १० देखि २० वर्षका चार, २१ देखि ३० वर्षका तीन, ३१ देखि ४० वर्षका दुई, ४१ देखि ५० वर्षका चार र ५० वर्षभन्दा माथिका चार जना छन्।
असोज महिनामा लागुऔषधसम्बन्धी २१ मुद्दा दर्ता भएका छन्। ती घटनामा ३४ जना पक्राउ परेको प्रहरीले जनाएको छ। यस अवधिमा ८६.०७ ग्राम खैरो हेरोइन, १२६ एम्पुल फेनारगन र ६७ चक्की ट्रामाडोल बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीका अनुसार असोज महिनामा घरेलु हिंसासम्बन्धी ३२ उजुरी परेका थिए। तीमध्ये २८ वटा उजुरीमा मिलापत्र भएको छ भने चारवटा मुद्दा अदालत पठाइएको छ।
यसै अवधिमा हराएका ३४ जनाको विवरण दर्ता भएको र सबै ३४ जना फेला परेको प्रहरीले जनाएको छ। हराउनेमा १८ महिला, छ बालक, नौ बालिका र एक ज्येष्ठ नागरिक थिए।
असोज महिनामा कञ्चनपुरमा ५४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा तीन जनाको मृत्यु भएको र ७६ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ। ती दुर्घटनामा ७६ वटा सवारीसाधन संलग्न थिए।
प्रहरीका अनुसार ४६ दुर्घटना चालकका कारण र आठ दुर्घटना चौपायाका कारण भएका थिए।
शान्ति सुरक्षा कायम गर्न प्रहरीले असोज महिनामा ३५ पटक विशेष प्रहरी परिचालन गरेको जनाएको छ। यस अवधिमा एक हजार ३०२ पटक पिकेट, १३२ पटक चेकिङ, ३७२ पटक ग्रामीण गस्ती, दुई पटक एलआरपी र १३० पटक एसआरपी परिचालन गरिएको थियो।
फैसला कार्यान्वयनतर्फ प्रहरीले २३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट २० वर्ष एक महिना १९ दिन कैद भुक्तान गराउनुपर्ने र दुई लाख ६४ हजार ६६२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ।
प्रहरीका अनुसार सार्वजनिक चासोका पेन्डिङ मुद्दामध्ये १६ वटा फर्छ्योट भएका छन् भने ५५९ मुद्दा अझै बाँकी छन्।
प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया